(Japan) 12 th September | 2024 | Thursday | 1:35:05 AM || (Nepal) 10:20:05 PM
 
 


मेयर बालेन कान्स फिल्म फेस्टिभलुमा सहभागी हुन फ्रान्स प्रस्थान

  POSTED ON : Tuesday, 14 May, 2024 | Views : 600

मेयर बालेन कान्स फिल्म फेस्टिभलुमा सहभागी हुन फ्रान्स प्रस्थान


काठमाडौं, नेपाल ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) फ्रान्स प्रस्थान गरेका छन् । 

कान्स फिल्म फेस्टिभलको ७७ औँ श्रृङ्खलामा भाग लिन मेयर शाह डेभिड लिसनार्डको निम्तोमा मंगलबार बिहान प्रस्थान गरेका हुन् । प्रमुख शाहका साथमा व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल रहेका छन्। 

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र प्रशासन विभागका प्रमुख दीपक अधिकारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट फ्रान्सका लागि विदाइ गरेका थिए ।

कान्स र काठमाडौँ दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् । कान्सका मेयरले प्रमुख शाहलाई पठाएको निमन्त्रणा पत्रमा भनिएको छ, ‘फेस्टिभल क्रिएटिभ सहरलाई एक ठाउँमा ल्याउने अवसर हो । फेस्टिभलमा अन–एयर शीर्षकमा सञ्चालन हुने अडियो भिजुअल कन्टेन्ट चेनबारे जान्न सजिलो हुनेछ ।’

प्रमुख शाह फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । त्यस क्रममा मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता हुनेछ । फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा प्रमुख सहभागी हुनेछन् । मेयर बालेनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना हुनेछ । फेस्टिभल १२ दिन चल्नेछ । यीमध्ये प्रमुख शाह ३ दिनको कार्यक्रममा सहभागी भएर जेठ ७ गते स्वदेश फर्कनेछन् ।

यस वर्ष फेस्टिभलका लागि नेपालबाट कुनै फिल्म छनोट भएको नभए पनि नेपालमा छायाङ्कन गरिएको ‘द सेमलेस’ अन रिगार्ड विधामा र ‘तारा स् अ लस्ट स्टार’ मार्केट स्क्रिनिङ विधामा छनोट भएका छन् । यी दुवै चलचित्रमा नेपाली कलाकार र प्राविधिकको संलग्नता छ ।

राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले २०८० कार्तिक १४ गते काठमाडौँसहित विश्वका ५५ वटा नगरलाई विभिन्न विधाका रचनात्मक सहरका रुपमा थप नाम सार्वजनिक गरेको थियो । काठमाडौँ महानगर विश्वका २६ वटा चलचित्र सहरमध्ये एउटामा छानिएको हो । रचनात्मक सहरको विश्व सहर सञ्जालमा १ सय भन्दा धेरै देशका ३५० वटा सहरहरु आवद्ध छन् । यस पटक ५५ वटा सहर थपिएका हुन् । जसमा चलचित्र विधामा ५ वटा थपिएका छन् । यससँगै चलचित्र सहरको संख्या २६ पुगेको छ । 

यस बर्ष सञ्जालमा जोडिएका सहरमा चलचित्रसँगै संगीत विधामा १६ वटा, डिजाइनमा ६ वटा, शिल्प तथा लोककलामा ७ वटा, साहित्यमा १० वटा, ग्यास्ट्रोनमी (खानाका परिकार) मा ७ वटा, मिडिया कलामा ४ वटा छन् । 

यस बर्ष चलचित्र विधामा छानिएका सहरहरुमा नेपालको काठमाडौँ, नाइजेरियाको असाबा, मोरक्कोको औराजाजाते, व्राजिलको पेनेडो र अर्जेन्टिनाको भिसेन्ते लोपेज हुन् ।