(Japan) 17 th May | 2025 | Saturday | 5:33:26 PM || (Nepal) 2:18:26 PM
 
 


टोकियोमा मे १९ तारिख आइतबार 'बोक्सीको घर' हेर्ने दिन

  POSTED ON : Monday, 06 May, 2024 | Views : 980

टोकियोमा मे १९ तारिख आइतबार 'बोक्सीको घर' हेर्ने दिन


टोकियो, जापान ।

चलचित्रका कलाकार भन्दापनि विषयवस्तु र प्रस्तुतीको लोकप्रियताले चर्चामा रहेको केकी अधिकारी स्टारर नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ जापानका प्रमुख शहरहरुमा प्रदर्शन हुने भएको छ ।

यसै क्रममा जापान प्रदर्शनको अधिकार पाएका सुभास लामिछाने र इभेन्ट म्यानेजमेन्ट डेस्टिनी क्रियशनले चलचित्रलाई टोकियोमा प्रदर्शन गराउने भएको छ ।

टोकियो नाकानो जेरो हलमा मे १९ तारिख आईतबार साँझ ६ बजे चलचित्र प्रदर्शन घोषणा गरिएको एक सातामै १०० बढि टिकट विक्रि भएपछि चलचित्र प्रदर्शनको जिम्मेवारी सम्हालेका डेस्टिनी क्रियशनका असिम बस्नेतले चलचित्र प्रदर्शन हाउसफुल हुने विश्वास व्यक्त गरे ।

३००० येन शुल्क तोकिएको चलचित्रको टिकट क्युआर कोड मार्फत अनलाईनबाट समेत खरिद गर्न सकिनेछ ।

चलचित्र प्रदर्शन हुने मितिसम्म टिकट बाँकी रहेमा चलचित्र प्रदर्शन स्थल नाकानो जेरो हलमा समेत उपलब्ध गराईने बताउँदै बस्नेतले हलको सिट क्षमता भन्दा बढि टिकट विक्रि नगरिने भएकाले पहिलेनै टिकट खरिद गर्न सबैलाई आग्रह गरे ।

दुई सातामै नेपालमा डेढ करोड बढि व्यापार गरिसकेको चलचित्र नेपालमा महिलालाई शिर्ष भुमिकामा राखेर धेरै व्यापार गर्ने पहिलो चलचित्र समेत बनेको छ ।

बाल बिवाह, बिदेश जाने युवाको कथा, विधवा महिला उसले भोग्ने पारिवारिक तथा सामाजिक यातना सहित सामाजिक कथावस्तुलाई सचित्र उतारेको चलचित्रमा बोक्सि आरोपित पिडित महिलाको चरित्रमा केकी अधिकारीलाई देख्न सकिनेछ ।

अन्धविश्वासका कारण समाज कतिसम्म क्रूर बन्छ भन्ने तथ्यलाई चलचित्रले उजागर गरेको बताइएको छ ।  

केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको चलचित्र आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ मा आधारित छ । सोही नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले चलचित्रलाई निर्देशन गरेका छन् ।

महिलालाई बोक्सीको आरोप लगाएर समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि चलचित्र कथा घुमेको छ । चलचित्रले समाजमा प्रचलित कुप्रथालाई चित्रण गरेको छ । 

चलचित्रमा मुख्यत पुरुषप्रधान समाजले ‘बोक्सी’ का नाममा महिलामाथि गरिएको दमनको कथालाई पस्कन खोजिएको छ ।