एजेन्सी ।
आफू मरेको भन्दै आफ्नै मेनेजरलाई विज्ञप्ति जारी गर्न लगाएकी विवादास्पद भारतीय मोडेल पूनम पाण्डेले एक भिडियो जारि गर्दै आफु जिउँदै रहेको बताएकी छिन् ।
चर्चाका लागि आफ्नै मृत्यु भएको गलत खबर पोस्ट गरेकी पाण्डेले भिडियो जारि गर्दै जिउँदै भएको बताएकी हुन् । इन्स्टाग्राममा आफ्नो 'मृत्यु भएको जानकारी' पोस्ट भएको एक दिनपछि शनिबार फेरि इन्स्टाग्राममा भिडियो राख्दै उनले आफू जीवितै रहेको जानकारी दिएकी छिन् ।
म जिउँदै छु'
शनिबार जारी सन्देशमा उनले भनेकी छिन्, 'म तपाईंहरू सबैलाई महत्त्वपूर्ण कुरा जानकारी गराउन जरुरी ठान्दछु कि म जिउँदै छु ।'
शुक्रबार उनकै आधिकारिक इन्स्टाग्राम ह्यान्डलबाट पाठेघरको क्यान्सरबाट पूनम पाण्डेको मृत्युु भएको जानकारी पोस्ट भएको थियो । त्यही जानकारीका आधारमा उनको मृत्युको समाचार भारतीय मिडियाले प्रकाशित गरेका थिए ।
शनिबार भने उनले भनेकी छिन्, 'आउनुहोस् सचेतना फैलाएर एक अर्कालाई सशक्त बनाऔं । र, हरेक महिलालाई आवश्यक कदमका बारेमा जानकारी दिऔं । सबै मिलेर यो रोगको विनाशकारी प्रभावलाई निर्मूल पार्ने प्रयास गरौँ ।'
पटक(पटक विवाद र चर्चामा आउने पूनमले भिडियोमा भनेकी छिन्, 'म जिउँदै छु । म पाठेघरको क्यान्सरबाट मरेकी छैन । दुर्भाग्यवश, पाठेघरको क्यान्सरबाट मृत्यु भएका लाखौँ महिलाका बारेमा भने भन्न सक्दिनँ ।' उनले पाठेघरको क्यान्सरबारे जानकारी नभएकैले महिलाहरूले ज्यान गुमाउनु परेको पनि बताएकी छिन् । सामाजिक सञ्जालमा भने उनले गलत खबर पोस्ट गरेको भन्दै चर्को आलोचना भएको छ ।
कंगना रनौतको रियालिटी शो लकअपबाट समेच चर्चा बटुलेकी पूनम २०११ को विश्वकप फाइनलअगाडि पनि विवादमा आएकी थिइन् । विश्वकप फाइनलअगाडि उनले भारतले खेल जिते नाङ्गै फोटो पोष्ट गर्नेबताएकी थिइन् ।