टोकियो, जापान ।
यो बर्षकै चर्चासँगै नामलाई लिएर विवादमा परिरहेको चलचित्र एक भगवत गीता जापानमा पनि प्रदर्शन हुने भएको छ ।
चलचित्रलाई जापानभर प्रदर्शनको अधिकार पिरो इन्टरटेनमेन्टले पाएको छ । पिरो इन्टरटेनमेन्टमा सदस्य रोहित न्यौपानेका अनुसार चलचित्र टोकियो, ओसाका, नागोया, फुकुओका, ओकिनावा लगायत शहरमा प्रदर्शनको मिति घोषणाको तयारी भइरहेको छ । जापानको एक दर्जन बढि शहरमा प्रदर्शनको तयारी भइरहेको बताउँदै न्यौपानले कुनैपनि शहरमा प्रदर्शन गर्न चाहने व्यक्ति वा संस्थालाई सम्पर्क गर्न अनुरोध गर्नुभयो ।
झरना थापाको निर्देशनमा तयार भएको चलचित्र हाल नामकै कारण नेपालमा विवादमा परिरहेको छ ।
यौनिक लैङ्गिक अल्पसङ्ख्यक समुदायको कथालाई पर्दामा अभिनेता विपिन कार्कीले ‘कमलामाई’ को भूमिकामार्फत शसक्त रुपमा प्रस्तुत गरेका छन् ।
चलचित्रमा धीरज मगर, कविर खड्का, जेविश र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झा लगायतका कलाकारले अभिनय गरेका छन् ।
सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रमा निर्देशक थापासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुंगेलले पटकथा, राजेश श्रेष्ठले छायांकन, मित्र डी गुरुङले सम्पादन, हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।
भदौ २९ गतेबाट नेपालमा प्रदर्शनको तयारीमा रहेपनि सेन्सर बोर्डमै अड्किरहेको चलचित्रको पोष्टर र ट्रेलर सार्वजनिक भएपछि आध्यात्मिक विकास समाज, हिन्दू जागरण नेपाल र विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले चलचित्रलाई लिएर विरोध जनाइरहेका छन् । नेपालमा निर्माण टीमलाई चलचित्रको प्रदर्शन रोक्नसमेत हिन्दूवादी संघसंस्थाले चेतावनी दिएका छन् ।
नामका विषयमा विवाद चर्किएपछि चलचित्र विकास बोर्डमा चलचित्र सेन्सर पास नभइ रोकिएको छ ।
भागवत एउटा पात्र र गीता अर्को पात्रको नाम भएको भन्दै निर्माण पक्षले धार्मिक ग्रन्ध भागवत वा गीतासँग कुनैपनि सम्बन्ध नरहेको बताएको छ । तर उक्त नाममै कुनैपनि चलचित्र बनाउन नपाउने तर्क हिन्दुवादी संस्थाहरुले गरिरहेका छन् ।