टोकियो, जापान ।
जापानको एउटा अदालतले फिल्मका केही अंश अपलोड गर्ने २ जनालाई ५० करोड येन (३६ लाख डलर) तिर्न आदेश दिएको छ । बिहिबार टोकियो जिल्ला अदालतले एउटा फैसलामा १३ ओटा प्रमुख फिल्म उत्पादक कम्पनीहरुलाई क्षतिपूर्ति बापत सो रकम दिन आदेश सुनाएको हो ।
आरोपीहरुले भिडियो शेयरिङ एपमा फिल्मको कयौं मिनेट लामो अंश अनुमति नलिइकन सम्पादन गरेर अपलोड गरेका थिए । जापानमा कुनै अदालतले त्यस्तो खालको फिल्म अनधिकृत रुपमा अपलोड गरेको मामिलामा क्षतिपूर्ति दिलाउने निर्णय गरेको यो पहिलो पटक हो ।
प्रतिवादीहरु दुबै २० देखि २९ वर्षबीचका छन् । उनीहरुविरुद्ध नोभेम्बरमै प्रतिलिपि अधिकार उल्लंघन गरेको अभियोग लगाइएको छ । तोहो कम्पनी, शोचिकु कम्पनी र तोई कम्पनी लगायत वादीहरुलाई उनीहरुले माग गरेको पूरा रकम क्षतिपूर्ति दिलाइएको छ ।
मुद्दाका अनुसार ती दुईले सन् २०२० को शुरु देखि सोही वर्षको अक्टोबरको बीचमा फिल्म एडिट गरेर पोष्ट गरी विज्ञापन आम्दानीबापत कम्तिमा पनि ७० लाख येन कमाएका थिए ।
प्रतिवादीहरुले शिन गोड्जिला, डिपार्चर्स, कोल्ड फिश जस्ता ५० भन्दा धेरै फिल्महरु एडिट गरेर अनधिकृत रुपमा अपलोड गरेका थिए । यी भिडियो १ करोड पटक भन्दा बढी हेरिएका छन् । हिसाब गर्दा फिल्म निर्माताहरुको घाटा झन्डै २ अर्ब क्षति भएको भएपनि उनीहरुले ५० करोड येन मात्रै दाबी गरेका थिए ।