टोकियो, जापान ।
नेपालको वर्तमान अवस्थामा परदेशिएका नेपाली युवाको कथा र कर्णाली क्षेत्रका नेपालीहरुको व्यथालाई मौलिक रुपमा चलचित्रमा उतारिएको 'चिसो मान्छे' जापानमा प्रदर्शन हुने भएको छ ।
नेपालमा तेस्रो हप्तामा सफलता सफलता पूर्वक प्रदर्शन भइरहेको चिसो मान्छे यही जुलाई १७ तारिख आइतबार साँझ ६ बजे राजधानी टोकियोको नाकानो स्थित नाकानो जेरोहलमा प्रदर्शन हुने भएको छ ।
चलचित्रलाई कर्णाली प्रदेश समाज जापानले प्रदर्शन गर्न लागेको हो । चलचित्रको टिकट परिवार सहित ४ जनासम्म हेल्न मिल्ने भिआईपी वा पारिवारिक टिकट एक मान येनको रहेको छ भने सामान्य तर्फ ३ हजार येन तोकिएको छ ।
कर्णाली क्षेत्रको वस्तुस्थितिमा बनेको चलचित्र भएकाले चलचित्र प्रदर्शन गर्न लागिएको कर्णाली प्रदेश समाजका अध्यक्ष कृष्ण शाहीले जानकारी दिनुभयो ।
शाहीका अनुसार चलचित्रमा कर्णाली प्रदेशको कथावस्तु, भाषा, भेषभुषा, मौलिकता समेटिएको छ ।
बिदेशिएका नेपालीहरुको कथा, घरदेशमा परिवारको व्यथा अनि बिदेशमै जीवन गुमाएका युवाहरुको कारुणिक वास्तविक अवस्था चित्रण गर्ने चलचित्र भएकाले सबैले एकपटक हेर्नुपर्ने शाही बताउनुहुन्छ ।
नेपाली मौलिकतामा आधारित रहेकाले चलचित्र चिसो मान्छे सफल र लोकप्रिय बनेको बताउँदै कर्णाली समाजका अध्यक्ष कृष्ण शाहीले भन्नुभयो 'सम्पूर्ण जापानमा रहनुभएका विशेषगरि टोकियो र आसपासमा रहनुभएकाहरुलाई चलचित्र हेर्न आउनुहुन अनुरोध गर्दछौं ।'
दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको छ । चलचित्रको टिजरमा अभिनेत्री स्वस्तिमा कर्णालीको भेषभूषामा देखिएकी छिन् ।
डिएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेको चलचित्रमा स्वस्तिमा र अर्पणसँगै देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, संयोग रसाइली, पुष्पा अवस्थी, सृष्टि आचार्य, विकास खनाललगायतको पनि अभिनय रहेको छ । चलचित्रको कथा, पटकथा, संवाद तथा छायांकन निर्देशक खनाल स्वयंको हो । चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।