(Japan) 10 th August | 2022 | Wednesday | 8:20:18 PM || (Nepal) 5:05:18 PM
 
 

कबड्डी ४ चलचित्रले जापानमा सबै किर्तिमान तोड्यो

  POSTED ON : Monday, 06 June, 2022 | Views : 2102

कबड्डी ४ चलचित्रले जापानमा सबै किर्तिमान तोड्यो


टोकियो, जापान ।

राजधानी टोकियोको मध्य क्षेत्रमा पर्ने नाकानो स्टेशन नेपालीहरुको बाक्लो बसाई र आउजाउ हुने क्षेत्र हो । नाकानोको नाकानो जेरो हल नेपाली कार्यक्रमहरु भइरहने चिरपरिचित ठाउँ । रेल स्टेशनबाट मात्र ४ मिनेटको दूरिमा रहेका कारण पनि यो स्थान नेपालीहरुका लागि कार्यक्रम गर्ने रोजाइको थलो बन्दै आएको छ ।

यहि थलो जुन ५ तारिख नेपालमय बन्न पुग्यो । कारण थियो कबड्डी ४ चलचित्र । नेपालमा दोस्रो सातामा भव्यताका साथ प्रदर्शन भइरहेको चलचित्र टोकियोमा १३ सय दर्शक क्षमताको भव्य हलमा शो गरिंदै थियो । आयोजकहरुले टिकटको माग उच्च भएपछि तोकिएका स्थानहरुबाट विक्रि गर्न समस्या भएपछि अनलाइनबाट समेत किन्न सकिने व्यवस्था मिलाएको थियो । एक दिन अगावै टिकट सोल्ड आउट भएको चलचित्र हेर्न हलसम्म करिव ३ सय दर्शक विना टिकट उपस्थित भएका थिए ।

‘टिकटको पैसा तिरेर ढिलो आएका कारण अन्य व्यक्तिलाई प्रवेश दिएका ६० जनालाई पैसा नै फिर्ता गरेर पठाउनुपर्यो’ जापानको लागि चलचित्र विक्रिको अधिकार पाउनुभएका सुभास लामिछानेले भन्नुभयो ‘डेढ सय जना भन्दा बढि हल भरिएर बस्ने मात्र नभई उभिने ठाउँ समेत नहुँदा फर्कानुपर्यो ।’

६ बजे प्रदर्शन गरिने भनिएको चलचित्र हेर्न दर्शकहरु आधा बढि संख्यामा ५ बजे नै उपस्थित भइसकेका थिए । ६ बज्नै लाग्दा दर्शक प्रवेश गराएको चलचित्र प्रदर्शन आयोजकले सबैलाई टिकट चेक गरेर भित्र प्रवेश गराउनै झण्डै एक घण्टा लाग्यो । 

१३ सय जनाको हलमा करिव १६ सय जना दर्शक चलत्रि हेर्न उपस्थित भएपछि व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे नै परेको थियो । ‘हामीले व्यवस्थापन उचित ढंगले समयमै गर्न सकनौं’ लामिछानेले भन्नुभयो ‘यो हाम्रो लागि पाठ भयो, आगामी दिनहरुमा यस्तो हुन दिंदैनौं ।’

‘चलचित्र हेर्न नपाएर फर्किएका २ सय भन्दा बढि दर्शक र टिकट सोधपुछ गरेर टिकट विक्रि भइसकेका कारण आउन नपाएका सहित करिव ५ सय दर्शक अझै चलचित्र हेर्न पर्खाइमा रहेका छन्सु’ भास लामिछानेले भन्नुभयो ‘उहाँहरुको मागलाई मध्यनजर गर्दै छिट्टै टोकियोमा अर्को शो प्रदर्शन गर्ने तयारी गरिसकेका छौं । यसपटक हलको क्षमता भन्दा बढि दर्शक प्रवेश नगराउने र समयमै सहज ढंगले चलचित्र हेर्न व्यवस्था गर्छौं ।’

चलचित्र हेर्न जापानमा नै जन्मिएका साना नानिवावुहरु सहित जापानमा दशकौंदेखि बस्दै आएका नेपालीहरु, बृद्ध उमेरका व्यक्ति सहित जापानी नागरिकहरुको समेत उपस्थिति रहेको थियो ।

नेपाली महिला वा पुरुषसँग विवाह गरेका जापानी नागरिकहरु सहित नेपाली भाषा बुझ्ने, नेपाल बारे चासो र सरोकार राख्ने करिव १ सयको संख्यामा जापानी नागरिकहरुको उपस्थिति रहेको थियो ।

चलचित्रको सुरुवात देखि अन्त्यसम्म नेपालका चलचित्र घरहरुको झल्को दिनेगरि हाँसो, ताली, हुटिगं र वाहवाही पाएको चलचित्र कबड्डी ४ हेरेपछि सबै दर्शकको एउटै प्रतिक्रिया थियो ‘धेरैपछि नेपालको सुन्दर दृश्यहरु सहित मौलिक खालको राम्रो नेपाली चलचित्र हेर्न पाइयो ।’

चलचित्र जापानमा कम्तिमा २५ शो हुने तय भइसकेको छ । हालसम्म फुस्सा, सिजुओखा, फुकुओका, योक्काइची मिए, क्युस्यु, नागोया, तोचिगी, ओसाका, कोबे लगायत ठाउँमा प्रदर्शन भइसकेको चलचित्र कबड्डी ४ ले सबै स्थानमा हाउसफुल शो गरेको छ ।

प्रदर्शन भइसकेका स्थानमा थप शो गर्न माग आएको र प्रदर्शनको क्रममा रहेका अधिकाशं स्थानमा टिकट विक्रि सकिएको वा सकिन लागेको जानकारी आफुले पाएको बताउँदै युवा व्यवसायी सुभास लामिछानेले भन्नुभयो ‘नेपाली कथावस्तुमा राम्रो मौलिक चलचित्र बन्यो भने विदेशमा नेपाली चलचित्रको राम्रो बजार बनिसकेको छ भन्ने गतिलो उदाहरण जापानबाट कबड्डी ४ ले दिएको छ ।’


नेपाली रोमान्टिक कमेडी चलचित्र 'कबड्डी-४ : द फाइनल म्याच'मा लोकप्रिय कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गाउमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, शारदा अधिकारी, लाल शोभा गुरुङ, प्रकाश घिमिरे, चिनिमाया गुरुङ, उपेन्द्र सुब्बा लगायतको अभिनय रहेको छ ।

यसअघि पनि करिव एक दर्जन नेपाली चलचित्र जापानमा प्रदर्शन गराइसक्नुभएका लामिछानेका अनुसार जापानको इतिहाँसमा नेपाली चलचित्र हेर्न टोकियोको एउटै शो मा उपस्थित भएको दर्शक संख्या अहिलेसम्मकै धेरै हो ।

यस बाहेक जापानका धेरै स्थानमा र धेरै शो गर्ने चलचित्रको रेकर्ड पनि कबड्डी ४ ले बनाउँदैछ ।