(Japan) 17 th April | 2024 | Wednesday | 4:00:18 AM || (Nepal) 12:45:18 AM
 
 


ताइफुबाट उर्जा उत्पादन सम्मको लक्ष सहित जापानमा पहिलो ताइफु अनुसन्धान संस्था खुल्यो

  POSTED ON : Tuesday, 12 October, 2021 | Views : 1434

ताइफुबाट उर्जा उत्पादन सम्मको लक्ष सहित जापानमा पहिलो ताइफु अनुसन्धान संस्था खुल्यो


टोकियो, जापान ।

टोकियो नजिक योकोहामा नेशनल युनिभर्सिटीमा यही महीनाको शुरुमा ताइफुबारे मात्रै अध्ययन गर्न एक अनुसन्धान संस्था खुलेको छ ।यो जापानमा खुलेको यस्तो खालको पहिलो संस्था हो । जापानमा ताइफुको प्रकोप निकै देखिने गरेको छ ।

ताइफु विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र अक्टोबर १ देखि खुलेको हो ।ताइफुका कारण हुने क्षतिहरुको प्रक्षेपण गर्न र यसलाई कम गर्ने ढाँचाहरु तयार पार्नका लागि यस संस्थामा निजी र सरकारी क्षेत्रका ताइफुसम्बन्धी विज्ञहरुका साथै प्राज्ञिक व्यक्तित्वहरुको समेत सहकार्य हुनेछ । ताइफुलाई नवीकरणीय ऊर्जाको स्रोतमा परीणत गर्ने लक्ष्य समेत केन्द्रको छ ।

यसले सन् २०५० सम्ममा कार्बन तटस्थ समाज हासिल गर्ने जापानको लक्ष्यमा टेवा पुग्ने अपेक्षा गरिएको छ । अनुसन्धाताका रुपमा ताइफुले उत्पन्न गराएको क्षति आफूलाई निकै पीडा हुने केन्द्रका अध्यक्ष हिरोनोरी फुदेयासुले भने ।

कयौं अनुसन्धाताहरुसँग हात मिलाएर आफूहरुले राम्रोसँग अध्ययन गर्न चाहेको पनि उनले बताए । केन्द्रका केही सदस्यहरु ताइफु शट परियोजनामा पनि संलग्न छन् ।

यसमा ताइफुको केन्द्रमा ठूलो परिमाणमा बरफ खसालेर ताइफुलाई कमजोर बनाउने पद्दतिमा काम भइरहेको छ । यस परियोजनाले ताइफुबाट कसरी ऊर्जा निकाल्ने भन्ने अध्ययन पनि भइरहेको छ ।