टोकियो, जापान ।
जापानको ठूलो भुभागमा भारी हिमपात जारी रहँदा जापानभर तापक्रम शून्य भन्दा कम रहेको छ । बिहिबारपनि कठ्यांग्रिदो जाडो देशभर यथावत रहने जापान मौषम विज्ञान एजेन्सीले जनाएको छ ।
यस सिजनको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली चिसोले जापानको सी अफ जापानको तटीय क्षेत्रमा भारी हिमपात गराएको छ । बुधबार बिहान देशका धेरैजसो स्थानमा कीर्तिमानी चिसो बढेको थियो । जुन बिहिबार पनि यथावत रहने भएको छ ।
मौसम अधिकारीहरूले हिम तूफान मुख्यतया उत्तरी जापानको सी अफ जापानको तटमा जारी रहने र बिहीबार बिहान अत्यन्त कम तापक्रम हुने चेतावनी दिएका छन् ।
मौसम विज्ञान एजेन्सीका अनुसार तीव्र हिउँदको चापको ढाँचाले जापानमा सिजनको सबैभन्दा चिसो हावाको प्रवाह गराएको छ । चिसो मौसमले भारी हिमपात ल्याएको छ, मुख्यतया जापानको समुद्र तटको पश्चिमी भागबाट उत्तरी जापानसम्मका क्षेत्रहरूमा जनजीवन कष्टकर हुनेगरि हिमपात भइरहेको छ ।
२४ घण्टामा बुधबार ओकायामा प्रिफेक्चरको मनिवा सहरको हिरुजेनमा ६६ सेन्टिमिटर र तोत्तोरी प्रिफेक्चरको देसेनमा ६१ सेन्टिमिटर हिउँ परेको छ ।
देशभरको तापक्रम एक दशक यताकै न्यून बिन्दुमा झरेको छ ।
कुमामोतो प्रिफेक्चरको कोसा सहरमा माइनस ९ डिग्री सेल्सियसको कीर्तिमानी कम तापक्रम देखिएको छ ।
बिहीबार साँझदेखि २४ घण्टाको अवधिमा होक्काइदो र निगाता प्रान्तमा ६० सेन्टिमिटरसम्म, तोहोकु क्षेत्रमा ५० सेन्टिमिटरसम्म र टोकियो क्षेत्रको कान्तो कोशिन र तोकाइ क्षेत्रमा २० सेन्टिमिटरसम्म हिमपात हुने अनुमान गरिएको छ ।
बिहीबारसम्म होक्काइडोमा ९० किलोमिटर प्रतिघण्टा र तोहोकुमा ७२ किलोमिटरसम्म चिसो हावा चल्ने अनुमान गरिएको छ । चिसो तापक्रम बिहीबार मध्यरातसम्म देशभर जारी रहने अनुमान गरिएको छ ।
नागानो सहरको न्यूनतम तापक्रम माइनस १२ डिग्री, साप्पोरोमा माइनस १० डिग्री र सेन्दाई, ओकायामा र कुमामोतो सहरहरूमा माइनस ५ डिग्रीको पूर्वानुमान गरिएको छ ।
क्योतो र कोचीको न्यूनतम तापक्रम माइनस ४ डिग्री, मध्य टोकियो र नागोयामा माइनस ३ डिग्री र फुकुओका र मियाजाकीमा माइनस २ डिग्री रहने अनुमान गरिएको छ ।
मौसम अधिकारीहरूले मानिसहरूलाई थप भारी हिउँ, हिम तूफान र यातायातमा सम्भावित अवरोध, साथै तेजगतिको हावा र उच्च समुद्री छालहरूको जोखिमबाट जोगिन तयारी गर्न आह्वान गरेका छन् । अधिकारीहरुले पानीको पाइप चिसो भएर पानी आपुर्ति अवरोध हुनसक्ने भएकाले पानीको जोहो गर्न समेत सचेत गराएका छन् ।