(Japan) 3 rd July | 2022 | Sunday | 4:39:07 AM || (Nepal) 1:24:07 AM
 
 

बलिङमा चुक्दा नेपाल पहिलो टी-२० मा जिम्बावे ‘ए’ सँग पराजित

  POSTED ON : Sunday, 01 May, 2022 | Views : 538

बलिङमा चुक्दा नेपाल पहिलो टी-२० मा जिम्बावे ‘ए’ सँग पराजित


काठमाडौं, नेपाल ।

ब्यागिङमा राम्रो प्रदर्शन गरेर १ सय ८० रन पार गरेपनि बलिङमा नेपाली खेलाडीहरु नचम्किंदा नेपाल जिम्बाबे 'ए' सँग टि-२० सिरिजको पहिलो खेलमा पराजित हुन पुगेको छ ।

नेपाली बलरहरु नचल्दा पहिलो टी-२० खेलमा जिम्बावे ‘ए’ ले नेपाललाई सहजै पराजित गर्न सक्यो । कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको खेलमा जिम्बावेले नेपाललाई ६ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावेले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

जिम्बावेका लागि कप्तान टोनी मुनयोङ्गा र ताडिवानाशे मारूमानीले अर्धशतक प्रहार गरे। मुरूमानीले ५६ रन र कप्तान टोनीले ५० रन जोडे। त्यसअघि ओपर इनोसेन्ट काइयाले ३० बलमा ४७ रन जोडे।

बलिङमा नेपालका डेब्यू खेलाडी बसिर अहमेदले २ विकेट लिए।  करण केसी र सन्दीप लामिछानेले १-१ विकेट हात पारे । खराब बलिङ गरेका कप्तान सन्दीपले ४ ‍ओभरमा ५० रन दिए। करणले ३ ओभरमा ३५ रन खर्चिए ।

त्यसअघि जिम्बावेले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा १८१ रन जोड्यो ।

नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान आदिल अन्सारीले उत्कृष्ट ब्याटिङ गरे। उनले २७ बलमा ४ चौका र ३ छक्काको मद्दतमा नटआउट ४७ रन जोडे ।

त्यसअघि ओपनर कुशल भुर्तेलले ४६ रन जोडे। उनले ३१ बलमा ८ चौका हिर्काए। आसिफ शेख ९ रनमा आउट भए ।

रोहित कुमार पौडेलले २६ बलमा ३६ रन र दीपेन्द्रसिंह ऐरीले रनआउट हुनुअघि १३ रनमा २८ रनको योगदान दिए । आरिफ शेख भने २ रनमै आउट भए। करण केसी ४ रनमा नटआउट रहे ।

बलिङमा जिम्बावेका ब्राड इभान्स, लुक जोङगे, ब्रान्डन माभुता र जोन मसाराले १-१ विकेट लिए।

यसअघि शनिबारका तय भएको पहिलो एकदिवसीय खेल वर्षाका कारण स्थगित भएको थियो। एकदिवसीय खेल प्रभावित भएपछि पहिले टी-२० सिरिज गरिएको हो।

दोस्रो टी-२० भोलि मा र तेस्रो टी-२० वैशाख २१ मा हुनेछ । एकदिवसीय खेलहरू वैशाख २३, २४ र २६ गते हुनेछन्।

नेपालले आइसिसी क्रिकेट विश्वकप लिग-२ खेल्न अमेरिका जानुअघि जिम्बावेको 'ए' टिमसँग तयारीस्वरुप खेल्न लागेको हो।