टोकियो, जापान ।
कतार २०२२ विश्वकप फुटवलको तयारीका लागि जापानले ब्राजिलसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
ब्राजिल फुटबल संघले बुधबार विज्ञप्ति जारी गर्दै जापानविरुद्ध आउँदो जुन ६ मा मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो ।
ब्राजिल र जापानबीचको खेल जापानको राजधानी टोकियोमा हुनेछ । त्यसको पाँच दिनपछि ब्राजिलले छिमेकी प्रतिद्वन्द्वी अर्जेन्टिनाविरुद्ध मेलबर्नमा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।
कतार विश्वकप २०२२ मा ब्राजिल समूह ‘जी’मा छ । ब्राजिलले समूह चरणमा सर्बिया, स्विट्जरल्यान्ड र क्यामरुनविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
त्यसअघि, ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप छनोट खेल हुने नहुने अझै टुंगो लागेको छैन । अर्जेन्टिनाका खेलाडीले कोभिड–१९ प्रोटोकल पालना नगरेको भन्दै ब्राजिल विरुद्धको खेल बीचमै रद्द भएको थियो । गएको सेप्टेम्बरमा खेल सुरु भएपछि फुटबल अधिकारी मैदानमै छिरेर खेल रोकेका थिए ।
ब्राजिल र अर्जेन्टिना दुवैले उक्त खेल पुनः खेल्न कुनैपनि संवाद अघि बढाएका छैनन् ।