(Japan) 3 rd July | 2022 | Sunday | 5:14:05 AM || (Nepal) 1:59:05 AM
 
 

करणको कमाल ! पपुवा न्यु गिनीलाई हराउँदै नेपाल त्रिकोणात्मक ट्वान्टी २० शृंखलाको फाइनलमा

  POSTED ON : Friday, 01 April, 2022 | Views : 452

करणको कमाल ! पपुवा न्यु गिनीलाई हराउँदै नेपाल त्रिकोणात्मक ट्वान्टी २० शृंखलाको फाइनलमा


काठमाडौं, नेपाल ।

करण केसीले उत्कृष्ट बलिङमा ह्याट्रिक सहित ५ विकेट लिएपछि लगातार तेस्रो खेल जित्दै नेपाल त्रिकोणात्मक ट्वान्टी २० शृंखलाको फाइनल पुगेको छ ।

नेपालले बिहीबार पपुवा न्यु गिनी (पीएनजी) माथि ३७ रनको जित निकालेको छ ।

२ सय ४ रनको लक्ष्य पाएको पीएनजी १९.४ ओभरमा १ सय ६६ रनमा अलआउट भयो । पीएनजीको यो लगातार तेस्रो हार हो ।

नेपालले बाङ्ग्लादेशमा भएको सन् २०१४ को विश्वकपमा पहिलो आधिकारिक टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको थियो।

त्यसको आठ वर्षपछि नेपालले टी-२० को ५०औँ अन्तर्राष्ट्रिय खेल कीर्तिपुर मैदानमा खेल्यो, जहाँ घरेलु टोलीले पपुवा न्युगिनीलाई पराजित गरेको छ ।

त्रिकोणात्मक शृङ्खलामा पाएको लगातार तेस्रो जितसँगै नेपाल फाइनलमा प्रवेश गरेको छ।

नेपाली खेलाडीहरूले खुलेर ब्याटिङ गरेपछि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २०३ रनको बनाएको थियो।

पपुवा न्यूगिनीले १९ ओभर चार बलमा सबै विकेट गुमाउँदै १६६ रन मात्र जोड्न सक्यो।

अन्तिम ओभरमा करण केसीको ह्याट्रिक नेपालको जितका लागि महत्त्वपूर्ण भयो। केसी एक्लैले बिहीवारको खेलमा पाँच विकेट लिएका थिए।

हारसँगै पपुवा न्यूगिनीको फाइनलमा पुग्ने सम्भावना एकदम कठिन भएको छ।

अहिलेसम्म खेलेको तीनवटै खेल हारेको पपुवा न्युगिनीले फाइनलमा पुग्न शुक्रवार मलेशियालाई राम्रो अन्तरले हराएर "नेट रन रेट" को भर पर्नुपर्छ।

तर नेपालले शनिवार मलेशियालाई हराउन सकेको खण्डमा मात्र त्यो अवस्था बन्नेछ।

ओपनर जोडी कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि ४४ रनको साझेदारी गरेसँगै नेपाली ब्याटरहरु कीर्तिपुरमा खुलेर खेल्ने सङ्केत देखिएको थियो।

भुर्तेल सातौँ ओभरमा हाकुरेको बलमा १७ रनमा क्याच आउट भए भने त्यसपछि भानुआले १०औँ ओभरमा शेखको विकेट लिएका थिए।

आशिफले २९ बलमा चार चौका र एक छक्काको मदतले ३८ रन बनाए।

शृङ्खलामा प्रभावकारी प्रदर्शन गरिरहेका रोहित पौडेलले पनि २३ बलमा ४१ रन जोडे। जसमा चार चौका र दुई छक्का सामेल थियो।

रोहित १५औँ ओभर आउट हुँदा नेपालको स्कोर १२३ रन पुगेको थियो।

त्यसपछि खेलमा जमेका दीपेन्द्रसिंह ऐरी र नयाँ खेलाडी आदिल अन्सारीले चौथो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए ।

दबावबिना खेल्ने मौका पाएका ऐरीले ६६ रन बनाउँदै टी-२० अन्तर्राष्ट्रिय खेलमा चौथो पटक ५० भन्दा बढी रन बनाए। ३३ बलको सामना गरेका उनले तीन चौका र चार छक्का प्रहार गरेका थिए।

ऐरीले १८औँ ओभरको सुरुको तीन बलमा लगातार तीन छक्का प्रहार गरेर खेलमा रोमाञ्च थपेका थिए। जसले गर्दा उनले २९ बलमा अर्धशतक पूरा गर्न भ्याएका थिए।

१९औँ ओभरको अन्तिम बलमा उनी पोकानाको बलमा क्याच आउट हुन पुगे। सो ओभरमा अन्सारीले लगातार तीन छक्का हान्दा नेपालले कूल ३२ रन जोडेको थियो।

अन्सारीले ११ बलमा एक चौका र तीन छक्कासहित ३३ रन जोडेर आफ्नो "डेब्यू" मा प्रभाव छोडे।

अन्तिम ओभरमा भने नेपालको तीन विकेट झरेको थियो। काबुआ मोरियाको सो ओभरमा अन्सारी, करण केसी (१ रन) र दिलीप नाथ (० रन) आउट भएका थिए।