(Japan) 29 th March | 2024 | Friday | 3:39:03 PM || (Nepal) 12:24:03 PM
 
 


पूर्वकप्तान पारसको अप्रत्यासित घोषणा ! अन्तर्राष्ट्रिय क्रिकेट अब कहिल्यै नखेल्ने

  POSTED ON : Tuesday, 03 August, 2021 | Views : 3346

पूर्वकप्तान पारसको अप्रत्यासित घोषणा ! अन्तर्राष्ट्रिय क्रिकेट अब कहिल्यै नखेल्ने


काठमाडौं, नेपाल ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका  छन । उनले अप्रत्यासित रुपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् ।

लामो समय नेपाली क्रिकेटलाई उचाइमा पुर्‍याएका उनले समर्थकबाट धेरै माया पाउंदै आएका छन । समर्थकको मन जित्न सफल पारस प्रदर्शनको हिसाबले पनि उनी उत्कृष्ट साबित मानिन्छन ।

सन् २००४ मा मलेसियाविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका पारसको कप्तानीमा नेपाली टोलीले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको थियो ।

उनको सन्न्यासको विषयलाई लिएर समर्थकहरुले अझै केही समय राष्ट्रिय टोलीबाट खेलेको देख्न पाउने सपना पूरा नभएको बताएका छन् । धेरै समर्थकले उनलाई सन्न्यास लिने समय अझै नभएका कारण सन्न्यास फिर्ता लिन पनि अनुरोध गरेका छन् ।

पारसले ०७६ असोज २८ गते कप्तानबाट राजीनामा दिएका थिए । नेपाली क्रिकेट आईसीसीको निलम्बनबाट फुकुवा भएको भोलिपल्ट नै उनले कप्तानबाट राजीनामा दिएका थिए । उक्त राजीनामापछि पनि समर्थकहरुले पारसलाई राजीनामा फिर्ता गर्न अनुरोध गरेका थिए ।

सन् २००९ मा विनोद दासलाई प्रतिस्थापन गर्दै पारस नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान बनेका थिए । सन् २००४ मा राष्ट्रिय टिममा डेब्यु गरेका पारसले नेपाली क्रिकेटमा राम्रो लय लिए ।

पारस २००९ मा कप्तान बन्दा नेपाल डिभिजन ५ मा थियो । त्यसपछि एक वर्षको अवधिसम्म नेपाली क्रिकेटमा खासै उल्लेख्य प्रगति देखिएन । उनी कप्तान भएको एक वर्षपछि नेपाली क्रिकेटले क्रमशः फड्को मार्दै २०१४ मा टी–ट्वान्टी विश्वकपसम्मको यात्रा तय गर्‍यो ।

पारस नेपाली क्रिकेटका लागि सबैभन्दा सफल कप्तान मात्र होइनन्, सबैभन्दा सफल खेलाडी पनि हुन् । उनी राष्ट्रिय टोलीका भरपर्दा अलराउन्डर र मिडियम फास्ट बलर तथा अफ स्पिन बलर पनि हुन् । यद्यपि, पछिल्लो समय उनले बलिङ कम गर्ने गरेका थिए ।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको लामो समय भइसक्यो । तर, ठूलो सफलता भने उनकै कप्तानीमा हासिल गर्‍यो । १२ वर्षअघि पारसले कप्तानी सम्हाल्दा डिभिजन ५ मा रहेको टोली अहिले एकदिवसीय क्रिकेट खेल्ने राष्ट्र बनिसकेको छ ।

पारसको सन्न्यासले नेपाली क्रिकेट र क्रिकेट विकासमा ठूलो असर पर्ने समर्थकहरुले बताएका छन् ।

नेपालले सन् २०१३ को नोभेम्बरमा सम्पन्न खेलमा हङकङलाई अन्तिम बलमा पराजित गर्दै आईसीसी विश्व टी–ट्वान्टीमा स्थान बनाएको थियो । त्यसयता नेपाली टोलीको सबैभन्दा भरपर्दा खेलाडीको रुपमा खेल्दै आएका पारसले टी–ट्वान्टी क्रिकेटमा शतक बनाउने एक्लो नेपाली खेलाडीको रुपमा आफूलाई स्थापित गरेका छन् ।

पारसकै कप्तानीमा नेपालले विश्वकप खेल्नेदेखि एकदिवसीय मान्यतासम्म प्राप्त गरेको थियो । पारसले नेपालका लागि झन्डै १७ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले सफल अलराउन्डरको रुपमा आफूलाई स्थापित गरे ।

पारसले गत वर्ष फागुनमा थाइल्यान्डमा भएको एसीसी इस्टर्न रिजन टी–ट्वान्टी प्रतियोगिता खेलेका थिए । नेपालका लागि यू–१७, यू–१९ हुँदै २००४ मा पारसले मलेसियाविरुद्ध डेब्यु गरेका थिए ।

पारसले सन् २००९ देखि २०१९ सम्म नेपाली क्रिकेट टोलीको कप्तानी गरेका थिए । नेपालले सन् २०१८ मा पहिलोपटक ऐतिहासिक एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो ।

पारसले नेपाललाई पहिलोपटक २०१० मा डिभिजन–५ को उपाधि जिताएका थिए । उनको कप्तानीमा नेपालले डिभिजन–५ देखि ३ सम्म उपाधि जितेको छ ।