काठमाडौं, नेपाल ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका नयाँ प्रशिक्षकको खोजी थालिएको छ । हाल मुख्य प्रशिक्षक रहेका मोन्टी देसाईको सम्झौता नवीकरण नहुने भएपछि नयाँ प्रशिक्षक खोजी थालिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय नागरिक मोन्टीको सम्झौता नवीकरण नगर्ने तयारी गरेको हो । त्यसका लागि क्यानले आगामी बोर्ड बैठकबाट अन्तिम निर्णय गर्ने भएको छ ।
क्यानका सचिव पारस खड्काले पदाधिकारीलाई अनौपचारिक छलफलमै प्रशिक्षक मोन्टीको सम्झौता नवीकरण नहुने बताइसकेका छन् । यस विषयमा सचिव खड्काले प्रशिक्षकसँग पनि सल्लाह भएको जानकारी पदाधिकारीलाई दिएका थिए ।
मोन्टी ०७९ माघदेखि नेपाली टिमको मुख्य प्रशिक्षक रहेका छन् । यसअघि मोन्टीले सन् २०१७ मा नेपालको यू–१९ टिमको ब्याटिङ सल्लाहकारका रूपमा काम गरेका थिए । मोन्टीको आगमनसँगै नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को अन्तिम १२ मध्ये ११ खेल जित्दै चार वर्षका लागि एकदिवसीय मान्यता जोगाएको थियो ।
गत असारमा नेपालले दोस्रोपटक आइसिसी टी–२० विश्वकप खेलेसँगै मोन्टीलाई हटाउने चर्चा चलेको थियो । विश्वकपमा नेपालले दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्ससँग खेल्दा मात्र १ अंक जोड्यो । त्यसपछि नै मोन्टीलाई निरन्तरता दिन नहुने छलफल चलेको थियो । तर, लिग २ को मिति नजिकै भएकाले त्यससम्मलाई सम्झौता थप गरिएको सदस्य दुर्गाराज पाठकले बताए ।
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा नेपाल पछिल्ला १२ मध्ये आठ खेलमा पराजित भएको छ । २ खेल मात्र जित्दा मोन्टी दबाबमा छन् । उनको आलोचना पनि हुन थालेको छ । नेपालले फेब्रुअरीमा नेदरल्यान्ड्सलाई नौ विकेट तथा अक्टोबरमा स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । नेपाल लिग २ को खेलमा नामिबिया, नेदरल्यान्ड्स, क्यानडा र ओमानसँग पराजित भइसकेको छ ।
२ चैत ०७९ मा नेपालले १२ मध्ये ११ खेलमा अविश्वसनीय जित निकाल्दै पुनः चार वर्षका लागि एकदिवसीय मान्यता जोगाएको थियो । त्यही समयमा नेपालले मोन्टी देसाईलाई प्रशिक्षक नियुक्त गर्यो । उनको आगमनसँगै नेपाले १२ मध्ये ११ खेल जितेको हो । त्रिवि क्रिकेट मैदानमा ब्याड लाइटका कारण खेल रोकिएपछि डिएसएल आधारमा युएईलाई अन्तिम खेलमा ९ रनले हराउँदै नेपालले जिम्बावेमा आयोजना हुने ग्लोबल छनोटमा स्थान बनाएको थियो ।