काठमाडौं, नेपाल ।
पहिलो नेपाल प्रिमियर लिग (एनपीएल)को सर्वोत्कृष्ट नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरी घोषित भएका छन् । उनले सर्वोत्कृष्ट खेलाडी बनेसंगै ओमोडा इभी कार पुरस्कार प्राप्त गरेका छन् ।
दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्सका कप्तान समेत हुन ।
एनपीएलमा उत्कृष्ट प्रदर्शनको सहयोगमा टोलीलाई उपबिजेता बनाएका दीपेन्द्र प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी भएका हुन् ।
दीपेन्द्रले आफ्नो व्यक्तिगतसँगै टिमको प्रदर्शनलाई पनि सुखद् कायम राखे । उनले नौ खेलमा १२ छक्का र १५ चौकासहित दुई सय २७ रन बनाएका छन् । दीपेन्द्रले नौ खेलमा नौ विकेट पनि लिएका छन् । उनले एक सय ६० को स्ट्राइक रेटसहित औसत ३७ रनमा ब्याटिङ गरेका छन् ।
त्यस्तै सिद्दार्थ बैंक प्लेयर अफ दि टुर्नामेण्ट सुदूरपश्चिमका सेफ अली जैब पाए । उनले ५ लाख रूपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट बलर ललित राजवंशी बने उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् । उदीयमान खेलाडी कर्णाली याक्सका विपिन प्रसाद शर्माले पाए । उनले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाएका छन् ।
त्यस्तै इनर्जेटिक प्लेयर अफ द टुर्नामेण्ट जनकपुरका जिमी नीशमले पाए । उनले २ लाख रूपैयाँ प्राप्त गरेका छन् ।
म्याक्सिमम चौका अवार्ड लाहिरु मिलान्थाले पाएका छन् । फेयर प्ले अवार्ड लुम्बिनी लायन्स टिमले प्राप्त गरेको छ ।