काठमाडौं, नेपाल ।
नेपाल प्रिमियर लिग एनपीएलको उपाधि जनकपुर बोल्ट्ले जितेको छ । त्रिभुवन विश्व विद्यालय स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदुरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधि चुमेको हो ।
सुदूरपश्चिम रोयल्सले टस जितेर ब्याटिङ रोज्दै जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको कसिलो लक्ष्य प्रस्तुत गरेको थियो । फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको जनकपुर बोल्ट्सले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि उचालेको हो ।
सुदूरपश्चिम रोयल्सले दिएको १ सय ८५ रनको लक्ष्य १९ दशमलव २ ओभरमा ४ बल बाँकि छँदै पूरा गर्दै जनकपुरले उपाधि हात पारेको हो ।
सुदूरपश्चिमका लागि सैफ जैबले सर्वाधिक ४३ बलमा ६९ रन बनाएका थिए । उनले विनोद भण्डारीसँग ११७ रनको साझेदारी गरेका थिए । विनोद भण्डारीले ३१ बलमा ४१ रनको पारी खेले । यस्तै, ब्रान्डन मक्मुलन र हरमित सिंहले समान १४ रन बनाए ।
जनकपुरका लागि मोहम्मद मोहसिन र किशोर महतोले समान तीन विकेट लिए । ललित राजवंशी र जिम्मी नीशमले एक-एक विकेट लिए ।
ब्याटिङतर्फ जनकपुरका लाहिरु मिलान्थाले सर्वाधिक ४९ बलमा ८७ रन बनाए । कप्तान आसिफ शेखले ३३ रन बनाउँदा मोहम्मद मोहसिन ९ रनमा पभेलियन फर्किए । यस्तै हर्ष थाकरले अविजित ३० रन बनाए भने जिम्मी नीशमले ४ रनको पारी खेले ।
बलिङतर्फ सुदूरपश्चिमका सैफ जैब, स्कट कुगेलाइन, दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले समान एक विकेट लिए ।
पछिल्ला खेलमा लाहिरु मिलान्थाले लय गुमाएका थिए । तर महत्त्वपूर्ण खेलमा मिलान्थाले विस्फोटक ब्याटिङ गर्दा जनकपुरले उपाधि उचाल्न सफल बन्यो । जनकपुरले यसअघि लिग र क्वालिफायरमा सुदूरपश्चिमसँग नमिठो पराजय बेहोरेको थियो । तर उपाधि भिडन्तमा अघिल्ला दुई हारको बदला लिंदै पहिलो नेपाल प्रिमियर लिगको च्याम्पियन बनेको छ ।
जनकपुर बोल्टस्लाई नेपालका पूर्व प्रशिक्षक पुबुदु दसानायकले मुख्य प्रशिक्षण दिएका थिए । जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ ।