काठमाडौं, नेपाल ।
हङकङ सिक्सेस अन्तर्गत क्वार्टर फाइनल खेलमा नेपाल श्रीलंकासँग ४० रनको फराकिलो अन्तरले पराजित भएको छ।
टस जितेर फिल्डिङ रोज्दै श्रीलंकालाई ब्याटिङको निम्तो दिएकोमा निर्धारित ६ ओभरमा मात्र २ विकेट गुमाएर श्रीलंकाले १२३ रन बनाएको थियो ।
श्रीलंकाका लागि सन्दुन वीरक्कोडीले ५०, थानुका दाबारेले १८, लिहुरु मधुसंकाले ३१ र लाहिरु सामाराकूनले २२ रन बनाए।
बलिङतर्फ नेपालका प्रतिश जिसी र नारायण जोशीले एक–एक विकेट लिए ।
जवाफी ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो। नेपालका लागि रासिद खानले ५५, लोकेश बम ६, कप्तान सन्दीप जोरा शून्य, विवेक यादव ५, नारायण जोशी १३ र प्रतिश जिसी शून्य रनमा आउट भए ।
यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले समूह चरणको आफ्नो पहिलो खेलमा इंग्ल्याण्ड र दोस्रो खेलमा अष्ट्रेलियालाई हराएको थियो ।