काठमाडौं, नेपाल ।
हङकङमा चलिरहेको द हङकङ सिक्सेस प्रतियोगितामा नेपाल एक खेलअघि नै दोस्रो चरण प्रवेश गरेको छ ।
समूह ‘बी’ अन्तर्गत दोस्रो खेलमा इङ्ग्ल्याण्ड अष्ट्रेलियासँग पराजित भएसँगै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो ।
आजै भएको अर्को खेलमा इङ्ग्ल्याण्ड अष्ट्रेलियासँग ३४ रनले पराजित भएको छ । अष्ट्रेलियाले दिएको एक सय ४८ रनको बिशाल लक्ष्य पछ्याएको इङ्ग्ल्याण्डले निर्धारित ६ ओभरमा एक सय १३ रन मात्रै बनाउन सक्यो । त्यसअघि नेपालले इङ्ग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो ।
बिहान भएको आफ्नो पहिलो खेलमा नेपालले तीन पटकको च्याम्पियन इङ्गल्याण्डलाई छ विकेटले पराजित गरेको हो । इङ्गल्याण्डले दिएको ९८ रनको कठिन ठानिएको लक्ष्य पछ्याएको नेपालले निर्धारित छ ओभरको खेलमा १० बल बाँकी हुँदै पुरा गर्यो ।
नेपालका कप्तान सन्दिप जोराले ५० रन बनाएर रिटायर्ड भए । यस्तै रसिद खानले अविजित २१ र लोकश बलले अविजित २० रन बनाए । त्यसअघि मिसन रोड ग्राउण्डमा टस हारेर पहिला ब्याटिङ गरेको इङ्गल्याण्डले ६ विकेट गुमाएर ९७ रन बनाएको थियो ।
नेपालले पहिलो पटक द हङकङ सिक्सेस प्रतियोगिता खेलेको हो । अब नेपालले भोलि बिहान अस्ट्रेलियाको सामना गर्नेछ ।