काठमाडौं, नेपाल ।
टि-२० सिरिजमा क्लिन स्विप गर्दै हराएको अमेरिकासँग नेपाल आज फेरी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा उसकै घरेलु मैदानमा भिड्दैछ ।
टि-२० मा उत्कृष्ठ प्रदर्शन गरेपनि लिगमा खराब अवस्थामा गुज्रिरहेको नेपाल तालिकाको आठ टिममध्ये सातौँ स्थानमा छ । नेपालले लिगमा आठ खेल खेल्दा एक खेलमा मात्र जित निकाल्दै केवल तीन अंक जोडेको छ ।
घरेलु टिम अमेरिका भने तालिकाको दोस्रो स्थानमा छ । अमेरिकाले नौ खेल खेल्दा ६ जित र तीन हार सहित १२ अंक जोडेको छ । यसअघि शृंखलाको पहिलो खेलमा अमेरिकाले स्कटल्यान्डविरुद्ध १० विकेटको जित निकालेको थियो । शृंखलामा नेपालको भने यो पहिलो खेल हो ।
अमेरिका र नेपालबीच लिग–२ अघि तीन खेलको ट्वान्टी–२० शृंखला भएको थियो । उक्त शृंखला नेपालले ‘ह्वाइट वास’ गरेको थियो । आज नेपाल सोही लय कायम राख्ने लक्ष्यमा हुनेछ ।
अमेरिका र नेपालबीच भएका पछिल्ला पाँच एकदिवसीय खेलमध्ये दुवै टिमले समान दुई खेल जितेका छन् । यी दुई टिमबीचको अर्को एक खेल भने ‘टाइ’ भएको थियो ।
अमेरिकाको ड्यालसमा हुने खेल नेपाली समय अनुसार राति ९ः१५ बजेदेखि सुरु हुनेछ । जापानी समय अनुसार रातको साँडे १२ बजे खेल हुँदैछ । श्रृंखला अन्तर्गत नेपालले मंगलबार स्कटल्यान्डसँग खेल्ने तालिका रहेको छ ।