नागोया, जापान ।
नेपाली युवा किक बक्सिङ खेलाडी अरिवल घिमिरेले फ्रान्सका व्यावसायिक किक बक्सरलाई नकआउटमा हराउँदै ISKA इन्टर कन्टिनेन्टल सुपरवेल्टर वेट् टाइटल किक बक्सिङ अवार्ड टाइटल उपाधि उचालेका छन् ।
नागोयामा शनिवार साँझ भएको भिडन्तमा पहिलो राउण्टको दुई मिनेटमै फ्रान्सका एन्टोनी मार्कोनिनलाई रिङमा ढाल्दै टाइटल उपाधिको बेल्ट हात पारेका हुन् । ३ मिनेटको ५ राउण्ड खेलमा कडा प्रतिस्पर्धी ठानिएका फ्रान्सेली किक बक्सर अविरल सामु २ मिनेट भन्दा बढि टिक्न सकेनन् ।
नेपालको राष्ट्रिय गान बजाएर सुरु भएको खेलमा थोरै संख्यामा उपस्थित भएपनि नेपाली समर्थकहरु सहित अबिरलका जापानी समर्थकहरुले हुटिङ गर्दै जोस र हौसला थपेका थिए ।
सुरुको एक मिनेट केहि कडा प्रतिस्पर्धा जस्तो देखिएपनि हिमालयन चितुवाको नामले जापानमा व्यावसायिक किक बक्सिङमा आफ्नो छुट्टै परिचय स्थापित गरेका रविरलको किकको चोट सहन नसकेका फ्रान्सका मार्कोनिन पटक पटक रिङमा ढलेपनि सम्हालिएर भिडन्तमा फर्कन सकेनन् । जसका कारण अबिरलले खेल दुई मिनेटमै टुंग्याएर उपाधि हात पारे ।
जापानको नागोया शहरस्थित कंग्रेस इन्टरनेशनल ईभेन्ट हलमा भएको ISKA इन्टर कन्टिनेन्टल सुपरवेल्टर वेट् टाइटल किक बक्सिङ अवार्ड अन्तर्गतको टाइटल उपाधि हात पारेपछि अबिरलले नेपाली राष्ट्रिय झण्डा फहराउँदै साथ, सहयोग र समर्थन गर्न सबैप्रति धन्यवाद तथा आभार व्यक्त गरेका थिए ।
नागोयामा परिवार सँगै बस्दै आएका अविरलले निरन्तर रुपमा जापानमा हुने अन्तर्राष्ट्रिय स्तरका किक बक्सिङ प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आएका छन् । दुई दर्जन बढि यस्ता प्रतियोगितामा प्रतिस्पर्धा गरेका अबिरलले डेढ दर्जन बढि प्रतियोगिताको उपाधि उचालिसकेका छन् ।
अबिरलले यस अघि हिट ५३ को उपाधिमा ह्याट्रिक पुरा गरिसकेका थिए ।
आफ्नो व्यावसायिक किक बक्सिङ खेल जीवनलाई निखार्न अबिरलले गत मार्चमा थाइल्याण्डमा गएर विशेष प्रशिक्षण समेत लिएको अबिरलका पिता तथा नेपाली किक बक्सिङका अन्तर्राष्ट्रिय पूर्व खेलाडी एवं प्रशिक्षक देव घिमिरेले जानकारी दिनुभयो ।
अविरलले नियमित रूपमा नागोयामा रहेको सिमुरा डोजोमा प्रशिक्षण लिंदै आएका छन् ।