काठमाडौं, नेपाल ।
साफ महिला च्याम्पियनशिप फुटबलमा श्रीलङ्कामाथि ६-० गोल अन्तरको जित निकाल्दै नेपाल सेमिफाइनलमा पुगेको छ । यो जीतसंगै नेपाल समूह 'बी' को विजेता पनि बनेको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बिहीवार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई एकतर्फी ६-० गोलले हराएको हो । नेपालका लागि रेखा पौडेलले २ तथा सावित्रा भण्डारी, सबिता राना मगर, रश्मीकुमारी घिसिङ र अमिशा कार्कीले समान १-१ गोल गरे ।
योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । भुटान समूह 'बी' बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो खेलमा भुटानले माल्दिभ्सलाई १३-० गोल अन्तरले हराएको थियो । समूह 'ए' बाट बङ्गलादेश विजेता बन्दै र भारत उपविजेता बन्दै सेमिफाइनलमा पुगिसकेका छन् ।
अब सेमिफाइनलमा नेपालले भारतसँग र बङ्गलादेशले भुटानसँग खेल्नेछ । सेमिफाइनल खेल आउँदो आइतवार हुनेछ भने फाइनल खेल आउँदो बुधवार हुनेछ ।