टोकियो, जापान ।
एफसी १७ वर्षमुनिको एशियन कप छनोटमा नेपाल उपाधि दावेदार जापानसँग लजास्पद हार व्यहोर्न पुगेको छ ।
एशियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको पहिलो खेलमा साबिक विजेता जापानमाथि गोलको अग्रता लिएपनि त्यो क्षणिक बन्न पुग्यो ।
कतारको दोहामा रहेको हमद बिन खालिफा स्टेडियमा भएको खेलमा नेपालको लागि १२ औं मिनेटमा सविनकुमार मगरले गोलको अग्रता दिलाएका थिए । तर त्यसपछि भने जापानी खेलाडीहरुले नेपालमाथि गोलको बर्षा गरे ।
जापानको लागि दाईची तानीले ह्याट्रिक गोल गरे भने आधा भन्दा बढि खेलाडीले गोल गर्दा नेपाल निरिह बन्न पुग्यो । खेलको अन्तिम समयमा विज्ञान खड्काले सान्त्वना गोल त गरे तर यो ९ २ गोल अन्तरको लजास्पद हार टार्न पर्याप्त भएन ।
नेपाल र जापान रहेको समूह ‘एफ’मा कतार र मङ्गोलिया पनि छन् । समुह चरणको पहिलो खेल जित्दै जापानले ३ अंक बटुलेको छ ।
प्रतियोगिताको सबैभन्दा सफल टोली जापानले अघिल्लो वर्षसमेत गरी चारपल्ट यो प्रतियोगिताको उपाधि जितसकेको छ । नेपालले भने अहिलेसम्म तीन पटक छनौट चरण पार गरेर १७ वर्षमुनिको एशियन कप खेलेकोमा तीन पटक नै समूह चरणबाटै घर फर्कंदै आएको छ ।