(Japan) 12 th September | 2024 | Thursday | 1:28:42 AM || (Nepal) 10:13:42 PM
 
 


साफ यु–२० च्याम्पियनसिप : भुटानसँग नेपालको निराशाजनक खेल, पेनाल्टीले पुर्‍यायो फाइनल

  POSTED ON : Monday, 26 August, 2024 | Views : 526

साफ यु–२० च्याम्पियनसिप : भुटानसँग नेपालको निराशाजनक खेल, पेनाल्टीले पुर्‍यायो फाइनल


काठमाडौं, नेपाल ।

उमेर समूह होस् वा राष्ट्रिय टिम भुटानसँगको नेपालको फुटबल खेल पछिल्ला वर्षहरूमा यति खस्किदै गएको छ कि नेपाल मरेर जित्न पर्ने अवस्थामा पुगेको छ। यस्तै नियती दोहोरिएको छ साफ युथ ट्वेन्टी च्याम्पियनसिप फुटबलको सेमीफाइनलको आईतवारको खेल । 


आफ्नै घरेलु मैदानमा खचाखच दर्शकको समर्थनका बीचमा नेपाली युथ २० खेलाडीहरूले निर्धारित खेल अवधिमा निराशाजनक प्रदर्शन गरे। जसका कारण भुटान र नेपालको फाइनल यात्रा पेनाल्टीको आधारमा मात्रै भयो ।


निर्धारित समयमा नेपालले धेरै गोल गरेर भुटानलाई हराउने आशा गरेका दर्शकहरु पेनाल्टी सुटआउटसम्म पुग्दा नेपाल हार्ने हो कि भन्ने अवस्थामा पुगेका थिए। नेपाली खेलाडीहरु पनि त्यस्तै डर पैदा भएको अवस्थामा देखिन्थे ।


धन्न पेनाल्टले साथ दियो र नेपाल साफ यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गर्‍यो ।


सेमिफाइनलमा भुटानलाई पेनाल्टीमा ४-१ गोल अन्तरले हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो ।


सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा निर्धारित समयसम्म खेल १-१ गोलको बराबरीमा रहेपछि पेनाल्टीबाट नतिजा निकालिएको थियो ।


भुटानका दुई खेलाडीको प्रहार नेपालका गोलकिपर जियारथ शेखले बचाएका थिए ।


नेपालले फाइनलमा बंगलादेश र भारतबीचको विजेतासँग बुधबार प्रतिस्पर्धा गर्नेछ ।


निर्धारित समयको खेलमा भुटानले नेपाललाई दबाबमा राखेको थियो । ५६ औं मिनेटमा जितसुइनको गोलबाट भुटानले अग्रता लिएको थियो ।


तर, ७८ औँ मिनेटमा निराजन धामीले हेडर गोल गरेर नेपाललाई खेलमा फर्काएका थिए ।