(Japan) 12 th September | 2024 | Thursday | 12:28:31 AM || (Nepal) 9:13:31 PM
 
 


भारतलाई धुलो चटाउँदै महिला एसिया कपको उपाधी श्रीलंकाले जित्यो

  POSTED ON : Monday, 29 July, 2024 | Views : 456

भारतलाई धुलो चटाउँदै महिला एसिया कपको उपाधी श्रीलंकाले जित्यो


दम्बुला ।

भारतलाई उपाधी भिडन्तमा लज्जास्पद हार चखाउँदै श्रीलंकाले पहिलोपटक महिला एसिया कपको उपाधि उचालेको छ । आफ्नै भुमी दम्बुलामा आयोजित फाइनल खेलमा श्रीलंका ८ विकेटले विजयी बनेको हो ।


भारतले दिएको कसिलो ठानिएको १ सय ६६ रनको लक्ष्य श्रीलंकाले केवल १८.४ ओभरमा मात्र २ विकेटको क्षतिमा पुरा गर्‍यो । सन् २००४ देखि सुरु भएको यो प्रतियोगितामा भारतले अधिपत्य जमाउँदै आएको थियो । सन् २०१८ मा बंगलादेशले एक पटक उपाधी जित्नुबाहेक अन्य सबै सात उपाधि भारतको पोल्टामा पुगेको थियो ।


तर यसपटक उपाधी भिडन्तमा भारतीय टिमलाइ धुलो चटाउँदै श्रीलंकाका लागि जित दिलाउन हर्षिथा समाराविक्रमाले सर्वाधिक ६९ रनको योगदान दिइन् । उनले नटआउट रहँदै ५१ बलमा ६ चौका र २ छक्का प्रहार गरिन् ।


कप्तान चमारी अथपट्टुले ४३ बलमा ६१ रन बनाइन् । उनले ९ चौका र २ छक्का प्रहार गरिन् । काभिसा दिलहारीले १६ बलमा ३० रन जोडिन् ।


यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६५ रन जोडेको थियो ।


भारतका लागि स्मृति मन्धानाले सर्वाधिक ६० रनको योगदान दिइन् । उनले ४७ बलमा १० चौका प्रहार गरिन् । त्यस्तै, रिचा घोषले विस्फोटक ब्याटिङ गर्दै १४ बलमा ३० रन जोडिन् ।


जेमिमा रोड्रिग्वेजले १६ बलमा २९ रन बनाइन् । सेफाली वर्मा ले १६ तथा कप्तन हरमनप्रित कौरले ११ रनको योगदान दिइन् ।


श्रीलंकाका लागि काभिसा दिलहारीले २ तथा उदेशिका प्रबोधानी, साचिनी निसानसाला र चमारी अथपट्टुले १–१ विकेट लिएकी थिइन् ।


प्रतियोगितामा नेपाल समुह चरणबाटै बाहिरिएको थियो । युएईलाई हराउनु बाहेक भारत र पाकिस्तानसँग फराकिलो हार ब्यहोर्दै नेपाली टिम घर फर्किसकेको छ ।