एजेन्सी ।
लियोनल मेसीलाई प्रत्यक्ष देख्न र उनले खेलेको खेल हेर्न जम्मा भएका ४० हजार बढि दर्शकलाई निराश बनाउँदै मेसीले खेल नखेलेपछि हङकङका दर्शकहरु आयोजकमाथि खनिएका छन् ।
प्रि–सिजन मैत्रीपूर्ण खेलमा हङकङ–११ विरुद्ध इन्टर मियामीले अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई नखेलाएपछि समर्थक आक्रोशित बनेका हुन् ।
आइतबार दिउँसो भएको खेलमा मियामीले मेसीबिनै हङकङ–११ विरुद्ध ४–१ को सहज जित निकालेको थियो । तर, मियामीले मेसीलाई बेन्चमै राखेपछि मैदानमा उपस्थित करिब ४० हजार समर्थक आक्रोशित बनेका हुन् ।
मेसी नखेल्ने भएपछि समर्थकले टिकट फिर्ता गर्न माग गर्दै मियामीका मालिक डेविड बेकह्यामले प्रतिक्रिया दिएका बेला गिज्याएका थिए । मेसी नखेलेका कारण हङकङ सरकारबाट आयोजक टयाटलर एसियाले रकम कटौतीको सामना गर्न सक्ने त्यहाँका स्थानीय सञ्चारमाध्यमले खुलाएका छन् ।
“मेसीले आज खेल नखेलेको सम्बन्धमा हङकङ सरकार र सबै फुटबल प्रशंसक आयोजकको व्यवस्थाबाट अत्यन्तै निराश छन् ।
आयोजकले सबै फुटबल प्रशंसकलाई स्पष्टीकरण दिनुपर्छ,” त्यहाँको सरकारको प्रमुख खेलकुद आयोजक समिति (एमएसइसी)ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “एमएसईसीले नियम र सर्तहरूअनुसार आयोजकसँग फलो–अप कार्यहरू लिनेछ, जसमा मेसीले खेल नखेल्ने परिणामका रूपमा टिकटको रकम घटाउने सक्ने निर्णय समावेश गर्दछ ।”