काठमाडौं, नेपाल ।
बुद्ध धर्मका प्रतिक तथा शान्तिका अग्रदूतका रुपमा विश्वभर परिचित सिद्धार्थ गौतम अर्थात् भगवान गौतम बुद्धको २५६८ औँ जयन्ती आज पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदै छ ।
हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनुभएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिंदै आइएको छ ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण अर्थात मुत्यु सबै वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन् ।
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायतका ठाउँमा लामा एवम् बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।
यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ । यी ठाउँमा बिहानैदेखि चहलपहल छ ।
इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देहीको लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।
राजकुमारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बन्नुभएको, २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्कनु भई बुद्धत्व प्राप्त गर्नुभएको थियो ।