(Japan) 3 rd October | 2023 | Tuesday | 7:24:06 AM || (Nepal) 4:09:06 AM
 
 


आज भगवान कृष्णको जन्मदिन अर्थात् ‘श्रीकृष्णजन्माष्टमी’

  POSTED ON : Wednesday, 06 September, 2023 | Views : 338

आज भगवान कृष्णको जन्मदिन अर्थात् ‘श्रीकृष्णजन्माष्टमी’


काठमाडौं, नेपाल ।

आज भवान श्री कृष्णको जन्मदिनको अवसरमा विश्वभर हिन्दु धर्मावलम्बीहरु ‘श्रीकृष्णजन्माष्टमी’ मनाउँदैछन् । नेपालमा पनि भगवान् श्रीकृष्णको पूजा–आराधना गरी देशभर श्रद्धा–भक्तिपूर्वक श्रीकृष्णजन्माष्टमी मनाइँदै छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भदौकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक ग्रन्थमा उल्लेख छ ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णले व्यक्त गर्नु भएको ‘श्रीमद् भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ ।

छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

श्रीकृष्णजन्माष्टमीका अवसरमा आज ललितपुरको पाटनको मङ्गलबजारसहित देशभरका कृष्णमन्दिरमा मेला लाग्दछ । मंगलबजारको कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । 

सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।