टोकियो, जापान ।
जापानमा बसोबास गर्दै आएका नेवारी समुदायले आफ्नो धार्मिक र सांस्कृतीक संस्कार र रहनसहनलाई अनुसरण गर्दै आफ्ना साना बालबालिकाहरुको सामुहिक बेल विवाह र ब्रतबन्ध गराएका छन् ।
नेवाः अन्तर्राष्ट्रीय फोरम जापानको आयोजनामा अगष्ट २७ तारिख आईतवार टोकियो सिनओकुबो स्थित सोलमारी नेपाली मुरा हलमा सामुहिक बेल विवाह (ईही) र ब्रतबन्ध (क्येता पुजा) सम्पन्न भएको हो ।
जापानमा बेल विवाह र ब्रतबन्ध एकै साथ आयोजना भएको यो पहिलो पटक हो र यसलाई एउटा ऐतिहाँसिक कार्यक्रमको रूपमा जापानमा रहेका नेवारी समुदायले हेरेको छ ।
बेल विवाहको लागि ६ जना बालिका र ब्रतबन्धको लागि दुई बालकहरूलाई सहभागी गराइएको थियो ।
गुरू प्रज्वल रत्न बज्रचार्यले नेवारी परम्परा अनुसार विधिवत रुपमा बेल विवाह र ब्रतबन्धको कार्यक्रम सम्पन्न गराउनुभएको हो ।
उहाँलाई जापानी नागरिक, बौद्धिक अनुयायी युको ओखामोतोले साथ दिनुभएको थियो ।
पुजा पछीको कार्यक्रम संचालन संस्थाका पुर्व अध्यक्ष र बेल विवाह (ईही) र ब्रतबन्ध (क्येता पुजा) लाई सफल बनाउन बिशेष रूपले खट्नुहुने गंगा डंगोलले गर्नुभएको थियो ।
कार्यक्रममा जापानका लागि नेपाली महामहिम राजदूत दुर्गा बहादुर सुवेदीको पनि उपस्थिति रहेको थियो । बेल विवाह र ब्रतबन्धमा सहभागी बालबालिकाहरूलाई राजदूत सुवेदिको हातबाट “सहभागिता प्रमाण पत्र” प्रदान गरिएको संस्थाका महासचिव शिव तण्डुकारले जानकारी दिनुभयो ।
बिदेशमा पनि आफ्नो कला संस्कृतीलाई जगेर्णा गर्दै आफ्नो सन्तति माँझ हस्तान्तरण गर्न यस्ता कार्यक्रमले ठूलो योगदान पुग्ने बताउँदै राजदूत सुवेदिले सो अवसरमा आयोजक संस्थालाई धन्यवाद तथा बधाई व्यक्त गर्नुभएको थियो ।
संस्थाले बेल विवाह (ईही) यो तेस्रो पटक र ब्रतबन्ध (क्येता पुजा) पहिलो पटक आयोजना गरेको जनाएको छ । जापानमा आफ्नो छोराछोरीको कर्मकाण्ड गर्न पाएकोमा अभिभावकहरूले खुशी व्यक्त गरेका थिए ।
'जापानमा धार्मिक विधि अनुसार गर्न नपाएको भए नेपालमा गएर गर्नुपर्ने हुन्थ्यो, नेपाल सम्म गएर गर्न सबैको बिदा मिलाउन पनि गाह्रो छ, आज सम्पन्न भयो आयोजक संस्थालाई धेरै धेरै धन्यवाद छ' सबै अभिभावकहरूको एउटै स्वर थियो ।
सामुहिक बेल विवाह र ब्रतबन्ध सम्पन्न पश्चात कार्यक्रमको अन्तमा संस्थाका अध्यक्ष बाल कृष्ण डंगोलले जापानमा यसरी कार्यक्रम गर्न पाउँनु आफुहरुको लागि गर्वको कुरा भएको बताउँदै आफ्ना सन्ततीको लागि यस किसिमको कार्यक्रम गर्दै जाने धारणा राख्नुभएको थियो ।
बेल विवाह र ब्रतबन्ध सहभागी हुनुहुने सबै आभिभावक र बालबालिकालाई धन्यवाद व्यक्त गर्दै डंगोलले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने संस्था भित्र तथा बहिरको सबै व्यक्तिहरुप्रति कृतज्ञता प्रकट गर्नुभएको थियो ।
नेवाः अन्तर्राष्ट्रिय फोरम जापानले सेप्टेम्बर २ तारिख शनिवारको दिन 'खासाई रिन्काई कोउएन' मा “क्वाटी पुन्ही” आयोजना गर्ने जनाएको छ । यसका लागि सबैलाई सहभागी हुनको लागि पनि अनुरोध गरिएको छ ।
कार्यक्रम समापन पछी दिवा भोज सँगै रात्री भोज समेत आयोजना गरिएको थियो ।