(Japan) 3 rd October | 2023 | Tuesday | 6:17:33 AM || (Nepal) 3:02:33 AM
 
 


आज बुद्ध जयन्ती, विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै

  POSTED ON : Friday, 05 May, 2023 | Views : 976

आज बुद्ध जयन्ती, विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै


काठमाडौं, नेपाल ।

शान्तिका अग्रदूतका रूपमा विश्वभर परिचित भगवान सिद्धार्थ गौतमको २५ सय ६७ औँ जन्म जयन्ती आज पूजा, आराधना एवं प्रवचन गरी विश्वभर मनाइँदै छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका सिद्धार्थ अर्थात बुद्धको जयन्ती मनाउने गरिन्छ ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण 'मुत्यु' वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाल, जापान, भुटान, थाईल्याण्ड, चीन लगायत विश्वका बौद्ध धर्मावलम्बीहरु धेरै भएका देशहरुमा बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गरिन्छ ।

“अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो”, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५ सय ६७औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ ।

आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ । 

यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ ।

इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।