(Japan) 5 th June | 2023 | Monday | 2:27:18 AM || (Nepal) 11:12:18 PM
 
 

अनुराधा नक्षत्र र यस नक्षत्रका व्यक्तिहरुको स्वभाव र जीवनचक्र

  POSTED ON : Wednesday, 21 December, 2022 | Views : 1182

अनुराधा नक्षत्र र यस नक्षत्रका व्यक्तिहरुको स्वभाव र जीवनचक्र


२७ नक्षत्र मध्ये अनुराधा नक्षत्र १७ औं नक्षत्र रहेको छ । यो नक्षत्र वृश्चिक राशिको ३ डिग्री २० मिनेट देखी १६ डिग्री ४० डिग्रीसम्म फैलिएको हुन्छ । यस नक्षत्रका स्वामी शनी र देवता मित्र हुन् । यो नक्षत्र देवगण र मध्य नाडी अन्तर्गत पर्दछ । यस नक्षत्रका चारै चरण यानिकी ना, नी, नू, ने सबै वृश्चिक राशिमा पर्दछन् । वृश्चिक राशिको राशि स्वामी मंगल हुन् । अनुराधाको अर्थ राधा पश्चात् भन्ने हुन्छ किनकि विशाखालाई राधा मानिन्छ ।

शारीरिक बनावटको कुरा गर्दा यस नक्षत्रका जातकको लग्न या लग्नेशको सम्बन्ध बृहस्पतिसँग नभएमा सामान्यतया मध्यम कदका हुन्छन् । अनुहार आकर्षक र आँखा विशेष चम्किला हुन्छन् ।

जसरी कमलको फूल हिलोमा फुल्न सक्दछ, त्यसैगरी यस नक्षत्रमा जन्म लिने जातकहरु विभिन्न दुःख कष्टका बाबजुद पनि धैर्य भएर अगाडि बढ्ने साहस गर्दछन् । यस नक्षत्रका जातकले अरुको फिलिंग्स बुझ्न र महसुुुस गर्न सक्दछन् तर सकभर आफ्नो फिलिंग्स् अरुलाई देखाउन चाहँदैनन् । 
विगतको परिस्थितिले यस्तो अवस्था सिर्जना गरिदिन्छ जसका कारण अनपेक्षित भविष्य प्रति सधैं नै चिन्तित रहन्छन् । जसका कारण मानसिक शान्ति प्राप्त गर्न अत्यन्त कठिन हुने गर्दछ ।

यस नक्षत्रका जातकहरु जन्मस्थानबाट टाढा रहेको स्थानमा रही उन्नती प्रगती गर्ने गर्दछन् । पिताको मृत्यु या पिताबाट टाढा बस्नुपरेको कारण या त पितासँगको फरक विचारको कारण उचित तवरले हेरविचार या सहयोग प्राप्त गर्न कठिन हुन्छ ।

सानै उमेरमा आर्थिक आर्जनको अवसर प्राप्त गरे तापनि सन्तोषजनक प्रगतिको लागि भने जीन्दगीको लगभग चार दशक पार गर्नुपर्ने हुन्छ । यस नक्षत्रका जातकहरु स्वतन्त्र रुपले काम गर्न मन पराउने, अर्काको कन्ट्रोल या अन्डरमा बस्न नसक्ने भएका कारण जागीर भन्दा पनि स्वतन्त्र व्यापारतर्फ ज्यादा झुकाव राख्ने गर्दछन् ।

यस नक्षत्रमा जन्म लिने जातकलाई घुमफिरमा विशेष रुचि हुन्छ । एकै स्थानमा लामो समयसम्म बस्न असम्भव जस्तै हुन्छ । मानसिक उतारचढावका कारण सम्बन्धलाई लामो समयसम्म अगाडि बढाउन गाह्रो हुन्छ तर विश्वास गरेका मान्छेलाई दिलोज्यानले सहयोग गर्ने स्वभावका हुन्छन् । गुप्त विद्या जस्तै कि साइकोलोजी, ज्योतिष, तन्त्रविद्या आदिमा विशेष रुचि हुन्छ ।

यस नक्षत्रका जातकरुलाई एक्सिडेन्टको सम्भावना ज्यादा हुने हुनाले सावधानी अपनाउनु पर्ने देखिन्छ । आफ्नो समस्या अरुलाई सजिलोसँग सेयर गर्न नसक्ने भएका कारण ज्यादा तनाव लिई अन्य नक्षत्रका तुलनामा यस नक्षत्रका जातक डिप्रेसनमा जान सक्ने सम्भावना भएका कारण सचेत रहन आवश्यक हुन्छ ।
विशेष
यस नक्षत्रका जातकमा बदलाको भावना मनमा रहिरहने भएका कारण  शान्त रही बदला लिन उपयुक्त मौकाको प्रतिक्षा गर्दछन् ।
अनुराधाले राधा पश्चात् भन्ने संकेत गर्ने भएका कारण विवश परिस्थितिको कारण गहिरो प्रेमबाट छुट्टिनुपर्ने हुन्छ जसले मनमा असह्य पीडा दिने गर्दछ र त्यसपश्चातको सम्बन्ध मात्र अघि बढ्ने हुन्छ ।
जीवनका दुःख पीडा बिर्साएर अगाडि बढाउन सक्ने हैसियत भएका अत्यन्त असल जीवनसाथी प्राप्त हुन्छन् । सामान्यतया आफूभन्दा सक्षम र उच्च सामाजिक हैसियत भएका जीवनसाथी प्राप्त हुन्छन् ।
यस नक्षत्रका जातककहरु मनोविद्, वकिल, ज्योतिषी आदि पेशाहरुलाई अब्बल रुपले अगाडि बढाउन सक्षम हुन्छन् ।