२७ नक्षत्र मध्ये विशाखा नक्षत्र १६ औं नक्षत्र रहेको छ । यो तुला राशिको २० डिग्री देखी वृश्चिक राशिको ३ः२० डिग्री सम्म फैलिएको हुन्छ । विशाखाको अर्थ विभाजित शाखा भन्ने हुन्छ । विशाखा नक्षत्रको देवता इन्द्राग्नी र स्वामी बृहस्पति हुन् । सुरुका तीन चरण ‘ती,तु,ते’ तुला राशिमा र अन्तिम चरण ‘तो’ वृश्चिक राशिमा पर्दछ । तुला राशिको राशि स्वामी शुक्र र वृश्चिक राशिको राशि स्वामी मंगल हुन् । यो नक्षत्र राक्षस गण, अन्त्य नाडी अन्तर्गत पर्दछ । विशाखको अर्को नाम राधा हो जसले निश्चल प्रेमको संकेत गर्दछ ।
विशाखा नक्षत्रमा जन्म लिने जातकको शारीरिक संरचनाको कुरा गर्नुपर्दा सामान्यतया दुई प्रकारका हुन्छन् । या त ‘अग्ला र मोटा’ या त ‘होचा र दुब्ला’ । जन्मकुण्डलीमा अवस्थित अन्य ग्रहहरुले पनि जातकको शारीरिक बनावटमा प्रभाव पार्ने हुनाले नक्षत्रकै आधारमा मात्र व्याख्या गर्नु उपयुक्त हुँदैन । यस नक्षत्रमा जन्म लिने जातकको मुहारमा विशेष कान्ति हुन्छ जसका कारण हेर्दा नराम्रै देखिए तापनि अरुलाई प्रभाव पार्ने क्षमता हुन्छ । यस नक्षत्रमा जन्म लिने जातिका यानिकी स्त्रीहरुप्रति पुरुषहरु निकै आकर्षित हुने गर्दछन्, जसका कारण विपरीत लिंगीहरुबाट समस्या झेल्नुपर्ने अवस्था बारम्बार आउने गर्दछ ।
स्वभावको कुरा गर्दा विशाखा नक्षत्रमा जन्म लिने जातकहरु परिवर्तनकारी सोचलाई आत्मसात गर्ने किसिमका हुन्छन् । यसको मतलब पुराना कुराहरुलाई यथास्थितिमा आत्मसात गर्नु भन्दा पनि समय सान्दर्भिक परिमार्जन गरेर अगाडी बढ्नुपर्छ भन्ने भावनाले प्रेरित भएर अघि बढ्ने गर्दछन् । गान्धीवादी विचार ‘अहिंसा परमोधर्म’ र ‘सत्य नै भगवान हुन्’ भन्ने सिद्धान्त जीवनमा अपनाउने हरतरह कोसिस गर्छन् । विशाखा नक्षत्रका जातकलाई निर्णय लिन समय लाग्ने गर्दछ किनकि उनीहरुलाई सधैं के गर्ने–के नगर्ने, यो विकल्प ठीक कि–त्यो विकल्प ठीक भन्ने कुराले सताइरहन्छ किनकि तौलेर निर्णय लिनु उनीहरुको आधारभूत स्वभाव रहेको हुन्छ । जसका कारण मानसिक रुपमा अस्थिरताको स्थिति उत्पन्न हुन जान्छ ।
यस नक्षत्रमा जन्म लिने जातकले पारिवारिक सहयोग कमै मात्र प्राप्त गर्दछन् । परिस्थितिले घरबाट टाढा बस्नुपरेर या त आमाको मृत्यु या त पारिवारिक वातावरणको असन्तुलनले यथेष्ट माया र हेरविचार नपाउने अवस्थाको सिर्जना हुने गर्दछ ।
यस नक्षत्रमा जन्मिएका जातकलाई आत्मसम्मान विना कसैको नियन्त्रण वा खटनपटनमा बसेर काम गर्नु भनेको आत्महत्या गर्नु बराबर मुश्किल लाग्दछ । कुनै पनि कुराको चाँडो लत हुने हुनाले नसालु पदार्थको सेवनबाट सकभर टाढै रहनु श्रेष्यकर हुन्छ । नयाँ व्यक्तिसँग संगत गर्दा पनि विचार गर्नपर्ने देखिन्छ, किनकि अत्यन्तै छोटो समयमा विश्वास गरी निकट हुने हुनाले समस्यामा पर्ने सम्भावना ज्यादा रहन्छ ।
हार्ने स्वभाव नभएका कारण आफूलाई बिजेताकै रुपमा प्रस्तुत गर्न चाहन्छन् र त्यसका लागि जतिसुकै मेहनत गर्नुपरे पनि तयार हुन्छन् । स्वर्गलाई नै पृथ्वीमा ल्याउन खोज्ने स्वभावका कारण यिनीहरु अत्यन्त सौखिन र विलासी स्वभावका हुन्छन् । यस नक्षत्रका व्यक्तिहरु एकदमै साहसी र उत्सुक हुन्छन् जसका कारण खोज अनुसन्धानमा विशेष रुचि हुने गर्दछ । सही र गलतले यिनीहरुलाई ज्यादा असर गर्ने हुनाले अरुको मूल्यांकन गरिहाल्ने बानी हुने गर्दछ, जुन अरुलाई मन नपर्न सक्दछ । त्यसैगरी विभिन्न क्षेत्रमा रुचि हुने भएका कारण एउटै काममा फोकस भएर अघि बढ्न मुश्किल हुने गर्दछ । अरुसँग सल्लाह सुझाव लिएर अघि बढ्ने भन्दा पनि स्वविवेकले अघि बढ्ने यिनीहरुको स्वभाव हुन्छ ।
विशेष स्वभाव
बृहस्पतिको प्रभावको कारण यिनीहरु ज्ञानका भोका हुन्छन् र अध्ययनमै तल्लिन रहन्छन् ।
विशाखा नक्षत्रका जातकको या त बिहान चाँडै उठ्ने या त मध्यरात तिर केही खानेकुरा खाने बानी हुन्छ ।
यिनीहरु सकभर शान्त रहन्छन् तर कसैले अनावश्यक रुपमा यिनीहरुलाई दुःख दिएमा कसैले थाहै नपाउने गरी यिनीहरुले बदला लिन्छन् ताकि पुनः दुःख दिने दुस्साहस नगरोस् ।
परिवर्तनकै लागि आफू जन्मेको हुँ र मैले केही नयाँ काम या नयाँ ढंगले कुनै काम गर्नुपर्छ भन्ने यिनीहरुको सोच हुन्छ ।
शत्रुलाई पनि अन्याय हुन हुँदैन भन्ने सिद्धान्त अनुसार अन्याय सहन नसक्ने स्वभाव यस नक्षत्रमा जन्मिएका जातकमा हुन्छ ।