(Japan) 30 th November | 2022 | Wednesday | 12:01:46 PM || (Nepal) 8:46:46 AM
 
 

जापानमा म्हः पुजा भव्य रुपमा सम्पन्न

  POSTED ON : Monday, 31 October, 2022 | Views : 582

जापानमा म्हः पुजा भव्य रुपमा सम्पन्न


टोकियो, जापान ।

जापानमा रहेका नेवारी समुदायले म्हः पुजा परम्परागत रुपमा सामुहिक रुपमा सम्पन्न गरेका छन् ।

क्रियाशिल नेवाःहरूको संस्था नेवाः अन्तराष्ट्रिय फोरम जापानद्वारा टोकियो कोतोकु कितासुनामा सामुहिक म्हः पुजा आयोजना गरिएको हो ।

संस्थाको स्थापना वर्ष देखि निरन्तर गर्दै आएकोमा कोरोनाको कारण विगत दुई वर्ष भने कार्यक्रम स्थगित गरिएको थियो । यो वर्ष कोरोना संक्रमण केही कम भएको र धेरैले भ्यक्सिनपनि लगाएको हुनाले सामुहिकरूपमा म्हः पुजा आयोजना गरिएको संस्थाका महासचिव शिव तण्डुकारले जानकारी दिनुभयो ।

कार्यक्रमको सुरूवात यस संस्थाको संस्थापक सल्लाकार स्व श्री सत्य मोहन जोशी ज्युलाई श्रद्धाञ्जली अर्पण सहित माल्यार्पण गरेर सुरुवात गरिएको थियो । साथै एक मिनेटको मौन धारण समेत गरिएको थियो । संस्था स्थापना सहित सत्य मोहन जोशीको भुमिकाको बारेमा सो अवसरमा संस्थापक अध्यक्ष माधव नारायण मानन्धरले जानकारी गराउनु भएको थियो ।

त्यस लगतै नेपाल सम्वतको सुरूवातकर्ता समाजसेवी शंखधर साख्वाको प्रतिमामा भुतपूर्व अध्यक्ष ज्ञानु खातो मानन्धर र बर्तमान अध्यक्ष बाल कृष्ण डंगोलले सयुक्त्तरूपमा दीप प्रज्वलन गरी नयाँ वर्ष ११४३ को शुभकामना व्यक्त गर्नुभएको थियो ।

दोस्रो चरणमा कार्यक्रमको मुल समारोह सुरू भएको थियो । बालबच्चा सहित सत्तरी जना भन्दा बढी सहभागी भएर एकै पटक म्हः पुजा गरिएको थियो । शरीरको शुद्धिकरण र सुस्वास्थको कामना गर्दै गरिने म्हः पुजा नेवाःहरूको महत्वपुर्ण परम्परा मध्ये एक हो ।  कार्यक्रमा जापानवासी नेवाः समुदायको व्यक्तिहरू मात्र नभएर अन्य समुदायको व्यक्तिहरू लगायत जापानिजहरूको पनि सहभागित रहेको थियो ।

पुजा पश्चात नेवारी मौलिक खानपिनको साथमा नाचा गान गरी हर्षोउल्लाहस पूर्वक सहभागीहरुले म्हः पुजा सम्पन्न गरेका थिए ।

नेवाः अन्तराष्ट्रिय फोरम जापानले म्हः पुजा बाहेक बुद्ध जयन्ति, क्वाटी पुन्ही बार्षिक रूपमा आयोजन गर्दै आएको छ भने दुई पटक सम्म सामुहिक बेल विवाह “ईही” पनि सम्पन्न गरिसकेको छ । यस बाहेक नेपालमा गरिब बालिकाहरूलाई छात्रबृत्ति प्रदान, बिरामीलाई आर्थिक सहयोग सहित नेपालमा भईपरी आउने प्रकृतिक प्रकोप लगायत कोरोनाको संकटकालको समयमा पनि आर्थिक लगायत जिन्सी सहयोग गर्दै आएको छ ।

म्हः पुजा आयोजना बारेमा बोल्दै अध्यक्ष बाल कृष्ण डंगोलले आफ्नो कला, संकृति र परम्परा जापानमा पनि मनाउने र आफ्नो सन्ततीलाई सिकाउनुक्ँ साथै अन्य समुदाय र जापानीहरुलाई समेत परिचय दिंदै जाने यस संस्थाको मुल उदेश्य रहेको जानकारी दिनुभयो ।