टोकियो, जापान ।
विश्वभर महिलाको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक उपलब्धिहरूको मुद्दामा रहेर अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा जापानमा रहेका नेपाली महिलाहरुले पनि यो दिवस मनाउने भएका छन् ।
राजधानी टोकियोमा रहेर सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका महिलाहरुको अगुवाईमा आगामी मार्च ९ तारिख शनिबार टोकियोमा भेटघाट सहित आपसी भावना साटासाट गर्न कार्यक्रम आयोजना गरिन लागेको आयोजकहरुले बताएका छन् ।
टोकियो र आसपास बस्ने नेपाली महिलाहरूहरुको सहभागीताका लागि अनुरोध गर्दै आयोजक मध्येकी एक गृष्मा पौड्यालले सबै महिला दिदि बहिनीहरुलाई सहभागीताको लागि आग्रह समेत गर्नुभयो ।
सबैका दुःख, पिडा, संघर्ष सहित खुशीका भावनाहरु साटासाट गर्दै परदेशमा एकजुट हुन कार्यक्रमले सहयोग पुग्ने विश्वास पौड्यालको छ ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रमका लागि कमला लम्साल काप्री, इन्दिरा सुजुकी र सविता श्रेष्ठ सहित आफुले समन्वय गरिरहेको गृष्मा पौड्यालले जानकारी दिनुभयो ।
यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८ तारिक रहेको छ । तर जापानको व्यस्ततालाई ध्यानमा दिंदै मार्च ९ तारिख शनिवार टोकियो ओकुबो स्थित सोलमारी मुराहलमा दिनको १२ बजेबाट कार्यक्रम सुरु हुने र सहभागी महिलाहरुका लागि लन्चको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।