(Japan) 21 st February | 2024 | Wednesday | 7:58:35 PM || (Nepal) 4:43:35 PM
 
 


टोकियोमा फेब्रुवरी १७, नेवाः कला संस्कृती र सांस्कृतिक झाँकी प्रदर्शनको विशेष दिन

  POSTED ON : Tuesday, 06 February, 2024 | Views : 462

टोकियोमा फेब्रुवरी १७, नेवाः कला संस्कृती र सांस्कृतिक झाँकी प्रदर्शनको विशेष दिन



टोकियो, जापान ।

जापानमा सक्रिय नेपाली संघसंस्थाहरु मध्ये जातिगत संघसंस्थाहरुको शिर्ष स्थानमा रहेको नेवाःहरूको संस्था नेवाः अन्तर्राष्ट्रिय फोरम जापानले स्थापनाको २० बर्ष भव्य रुपमा मनाउने भएको छ ।

संस्था स्थापनाको २० वर्षको अवसरमा फेब्रुवरी १७ तारिक शनिवार टोकियो स्थित मेगुरो कुमिन सेन्टर हलमा भब्य कार्यक्रम आयोजना गरिने संस्थाका पदाधिकारीहरुले बताएका छन् ।

संस्था स्थापनाको दुई दशकको अवसरमा स्मारिका बिमोचन, नेवाः समुदायबाट जापानको विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूको सम्मान , स्थानीय कलाकारहरूको झाँकी र सांस्कृतिक नाचगान सहितको सांगितिक कार्यक्रम आयोजना गर्न लागिएको संस्थाका महासचिव शिव तण्डुकारले जानकारी दिनुभयो ।

कार्यक्रमलाई अझ रोमाञ्चक र भब्य बनाउनको लागि उदयमान कलाकार रोजमान महर्जन र निशा देसारलाई पनि आयोजकले नेपालबाट जापान बोलाउने भएको छ ।

जापानमा नेवाः चाडवाड मनाउने, आफ्नो कला सांस्कृतिक जोगाउँदै जापानिज लगायत नयाँ पुस्तालाई चिनाउने, जापानलाई कर्म भुमि बनाएर बसोबास गरेका नेवाःहरूलाई एकिकृत गर्दै जाने प्रमुख उदेश्य सहित सन् २००३ मा यो संस्था स्थापना भएको थियो ।

स्थापनाकाल देखि म्ह पुजा, बुद्ध जयन्ति, क्वाति पुन्ही कार्यक्रम गर्दै आएको नेवाः अन्तर्राष्ट्रिय फोरमले समय समयमा सामुहिक बेल विवाह ९ईही० र ब्रतबन्ध समेत अयोजना गर्ने गरेको छ ।

त्यस बाहेक जापानमा भैपरी आएको घटनाहरूमा नैतिक तथा आर्थिक सहयोग, नेपालमा भुईचालो गएको बेला आर्थिक तथा जिन्सी सहयोग, आर्थिक स्थिति कमजोर भएको कारण रोगको उपचार गर्न असमर्थ व्यक्तिहरुको लागि आर्थिक सहयोग, बिपन्न तथा जेहेन्दार बालबालिकाहरूलाई पठनपाठनको लागि सहयोग, कोरोना महामारीमा मेडिकल इक्युपमेन्ट र आर्थिक सहयोग गरी संस्थाले सामाजिक क्षेत्रमा आफ्नो दायित्व बहन गर्दै आएको छ ।

जापानमा आयोजना गरिने नेपाल फेष्टिबलमा नेवाः नाचगान र झाँकी प्रस्तुत गरी जापानी लगायत अन्य समुदायको व्यक्तिहरूलाई नेपालको पहिचान देखाउन सधै अग्रसर रहने संस्थाको रुपमा समेत नेवाः अन्तर्राष्ट्रिय फोरम जापानलाई लिने गरिन्छ ।

आफ्नो स्थापनाकालको २० औं वार्षिक कार्यक्रममा जापानमा रहुनुहुने सबै संघ संस्थाको प्रतिनिधि लगायत सम्पुर्ण व्यक्तिहरूलाई गरिमामय उपस्थितिको लागि संस्थाको अध्यक्ष बालकृष्ण डंगोलले हार्दिक अनुरोध समेत गर्नुभयो ।

जापानका लागि नेपालका महामहिम राजदुत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यतामा आयोजना गर्न लागिएको कार्यक्रममा सबै संघसंस्था तथा जापानवासी नेपालीहरुलाई उपस्थितिको लागि आयोजकले निमन्त्रणा समेत गरेको जनाएको छ ।