टोकियो, जापान ।
जापान सरकारले ज्वालामुखी विस्फोटन र त्यसपछि आएको सुनामीको चपेटामा परेको प्रशान्त क्षेत्रको टापु देश टोङ्गालाई १० लाख डलर भन्दा धेरै रकम र राहत सामाग्री उपलब्ध गराउने भएको छ ।
टोङ्गानजिक समुद्र मुनी गएको शनिबार ज्वालामुखी विष्फोट भएको थियो । त्यसपछि आएको सुनामीमा परेर टोङ्गामा कम्तिमा पनि चार जना ज्यान गएको छ । यसले त्यहाँ निकै ठूलो क्षति पनि गराएको छ ।
यस्तो अवस्थामा जापान सरकारले सहायताका लागि पिउने पानी र ज्वालामुखीबाट निस्किएको खरानी हटाउने उपकरण लगायत अन्य सामाग्रीहरु पठाउनेबारे विचार गरिरहेको मन्त्री परिषद्का मुख्य सचिव योशिहिको इसोजाकीले बताएका थिए । सरकारले देशको आत्म रक्षा बलको प्रयोग गर्नेबारे पनि विचार गरिरहेको बताइएको छ ।
‘कयौं टोङ्गालीहरु विपद्को मारमा परेका छन्, यसले निकै ठूलो क्षति पनि गराएको छ, त्यसैले हामीहरुले सकेसम्म धेरै टेवा दिन खोजेका छौं,’ पत्रकारहरुलाई सम्बोधन गर्ने क्रममा इसोजाकीले भने । जापानले टोङ्गामा पुनःस्थापना र पुनःनिर्माणको काममा अष्ट्रेलिया र न्यूजिल्यान्डसँगको निकट सहकार्य पनि गर्ने उनले बताए ।
टोङ्गा सरकारले सहयोगका लागि अनुरोध गरेको एक दिनपछि जापानले सहयोगको घोषणा गरेको हो । ज्वालामुखीबाट निस्किएको खरानीको बाक्लो पत्रले टोङ्गाको मुख्य विमानस्थलको रनवेसमेत देशको अधिकांश क्षेत्र ढाकिएकोले त्यहाँ सहयोग र राहत कार्यहरु समेत प्रभावित भएको बताइएको छ ।