(Japan) 29 th March | 2024 | Friday | 2:24:33 PM || (Nepal) 11:09:33 AM
 
 


जापानका पूर्व कृषि मन्त्रीसंलग्न घूस काण्डमा अन्डा उत्पादक कम्पनीका पूर्व प्रमुख दोषी

  POSTED ON : Wednesday, 30 June, 2021 | Views : 3934

जापानका पूर्व कृषि मन्त्रीसंलग्न घूस काण्डमा अन्डा उत्पादक कम्पनीका पूर्व प्रमुख दोषी


टोकियो, जापान ।

जापानको मुख्य अन्डा उत्पादक कम्पनीका पूर्व प्रमुख पूर्व कृषि मन्त्री ताकामोरी योशिकावालाई घूस दिएको आरोपमा दोषी पाइएका छन् । सोमबार टोकियो जिल्ला अदालतमा उनीमाथि लागेको अभियोगको पहिलो सुनवाईमा ८७ वर्षिय योशिकी आकिता दोषी भेटिएका हुन् ।

उनले सन् २०१८ को नोभेम्बरदेखि सन् २०१९ को अगष्टको बीचमा पशु कल्याण मापदण्डमा कम्पनीको हितमा निर्णय गर्न तत्कालीन कृषि मन्त्रीलाई फकाउन ५० लाख येन बराबरको रकम दिएको फैसलामा बताइएको छ ।

सुनवाईमा अभियोजनकर्ताहरुले तर्क गरेका थिए कि अन्तरराष्ट्रिय पशु कल्याण मापदण्डको कार्यान्वयनको विरोध गर्ने आशामा हिरोशिमा प्रिफेक्चरस्थित आकिता फूड्ज कम्पनीका प्रमुख आकिताले योशिकावालाई नगद दिएका थिए । सो मापदण्डमा जनावर पाल्दा लाग्ने खर्च बढाउन भनिएको थियो ।

जापानले कठोर खालको अन्तरराष्ट्रिय पशु कल्याण मापदण्ड अवलम्बन नगरोस् र प्रडक्टको मूल्य घट्दा कृषि क्षेत्रमा हुने घाटा बेहोर्न सरकारी कार्यक्रम विस्तार गर्न भनेर कानून निर्माता र कृषि मन्त्रालयका अधिकारीहरुसँग पनि आकिताले लबी गरेका थिए । अभियोजनकर्ताहरुले जनवरीमा नै योशिकावालाई घूस लिएको अभियोग लगाएका थिए ।

स्वास्थ्यसम्बन्धी चासो र उनीहरुले प्रमाण नष्ट नगर्ने वा नभाग्ने विश्वासका आधारमा उनीहरुले आकिता र योशिकावालाई हिरासतमा लिएका थिएनन् । स्वेच्छिक पुछताछका बेलामा योशिकावाले आफूले नगद लिएको स्वीकार गरेका थिए । तर यो रकम उनले मन्त्रीमा नियुक्त भएको खुसीयालीमा उपहारका रुपमा लिएको स्रोतले बताएको छ ।

उद्योग प्रशासनमा दूराचार भएको प्रमाण फेला नपरेको कृषि मन्त्रालयले शुरु गरेको तेस्रो पक्षीय अनुसन्धानले देखाएको थियो । तर पशु कल्याण मापदण्ड कठोर नबनाउन योशिकावाले कयौं पटक मन्त्रालयका अधिकारीहरुलाई दबाब भने दिइएको अनुसन्धानले देखाएको थियो ।

पूर्व न्यायमन्त्री खासुयुकी कावाई र उनको श्रीमति अनरीसँग सम्बन्धित मत खरिद काण्डमा गत वर्ष आकिता फूडजमा तलासी लिँदा अभियोजनकर्ताहरुले घूस दिएको कागजपत्र फेला पारेपछि यो काण्ड प्रकाशमा आएको हो ।