एजेन्सी ।
भारत पश्चिम बंगालको जलपाइगुडीमा सोमबार बिहान रोकिराखेको यात्रुबाहक रेललाई मालवाहक रेलले ठक्कर दिँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ ।
बिहान करिब ९ बजे पश्चिम बंगालको रंगापानी र नयाँ जलपाइगुडी स्टेसनको बीचमा दुई वटा रेल आपसमा ठोक्किएका हुन् ।
अगरतलाबाट सियालदह जाने क्रममा रोकिइराखेको कंचनजंघा एक्सप्रेसको यात्रुवाहक रेलमा मालवाहक रेल ठक्कर खाएको अधिकारीहरुले जनाएका छन् । घटनामा करिब ४० जना घाइते भएका छन् । उद्धार जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
घाइतेहरुलाई उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको छ । मालबाहक रेलले ठक्कर दिएपछि कंचनजंघा एक्सप्रेसका तीन वटा डब्बा ट्रयाकबाहिर गएका थिए । राज्यका रेलमन्त्री अश्विनी वैश्नवले घटनास्थलमा आपतकालीन सेवा विभागका कर्मचारीलाई खटाइएको जनाएका छन् ।
त्यस्तै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले उक्त घटनाप्रति दु:ख व्यक्त गरेकी छिन् ।