(Japan) 18 th March | 2025 | Tuesday | 6:25:58 AM || (Nepal) 3:10:58 AM
 
 


जापान सहित १३ देशद्धारा रफाहमा आक्रमण नगर्न इजरायललाई अपिल, ३५ हजार गाजावासी मारिए

  POSTED ON : Saturday, 18 May, 2024 | Views : 728

जापान सहित १३ देशद्धारा रफाहमा आक्रमण नगर्न इजरायललाई अपिल, ३५ हजार गाजावासी मारिए


एजेन्सी ।

इजरेली सेनाको बर्बरतापूर्ण आक्रमणमा गाजामा ३५ हजार भन्दा धेरै नागरिकको ज्यान गइसक्दा रफाह क्षेत्रमा आक्रमण हुन लागेपछि विश्वभरका देशहरुले इजरायली नरसंहारको बिरोध बढाएका छन् ।

यस्तैमा परम्परागतरूपमा इजराइललाई समर्थन गर्दै आइरहेका जापान सहित १३ पश्चिमी मुलुकले शुक्रबार इजराइललाई रफाह क्षेत्रमा ठूला सैन्य आक्रमण नगर्न सचेत गराएका छन् ।

गाजा क्षेत्रमा विध्वंशअघि रफाह क्षेत्र सुरक्षित रहेको भन्दै त्यसतर्फ जान आदेश दिएको इजरायली सेनाले हालकै दिनहरुमा पुन रफाहमा हमला गर्ने भन्दै त्यहाँबाट अन्यत्र सर्न धम्की दिंदै आएको छ । रफाह क्षेत्रमा १३ लाख भन्दा बढि गाजा वासी शरण लिएर बसेका छन् ।

'हामी रफाहमा पूर्णस्तरको सैन्य कारबाहीका लागि हाम्रो विरोध दोहोर्याउँछौँ, यसले नागरिक जनसङ्ख्यामा विनाशकारी परिणाम ल्याउनेछु' ती मुलुकका विदेशमन्त्रीहरूद्वारा आफ्ना इजराइली समकक्षी इजराइल काट्जलाई पठाइएको र सार्वजनिक गरिएको अपिलमा भनिएको छ ।

हस्ताक्षरकर्ताहरूमा जापान, अस्ट्रेलिया, बेलायत, क्यानडा, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोपेली सङ्घ ९इयु० का सदस्य देशहरु डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स र स्विडेन रहेका छन् । 

'मानवीय सहायतालाई रफाहसहित सबै प्रासङ्गिक क्रसिङ विन्दुमार्फत गाजा पट्टीमा प्रवेश गर्न दिन हामी इजराइल सरकारसँग आग्रह गर्दछौँ' उनीहरुले भनेका छन् । उनीहरुले इजराइलसँग ‘नागरिक, अन्तर्राष्ट्रिय तथा स्थानीय मानवीय सहायता कार्यकर्ता र पत्रकारहरूको सुरक्षाका लागि ठोस कदम’ चाल्न आह्वान गरेका छन् ।

अपिलमा ‘स्थायी युद्धविराम’ को पनि आह्वान गरिएको छ । इजराइलसँग सहायताका लागि ‘गाजामा सबै सम्भावित भूमिगत आपूर्ति मार्ग खोल्न’, ‘विद्युत्, पानी र दूरसञ्चार सेवाहरू पुनः सुरु गर्न’ र ‘गम्भीर रूपमा आवश्यक वस्तुहरूको आपूर्ति, विशेषगरी चिकित्सा आपूर्ति’ लाई बढावा दिन आग्रह गरिएको छ ।

अन्त्यमा इजराइलसँग ‘हाम्रा सबै नागरिक, योग्य व्यक्ति र विदेशमा मानवीय वा चिकित्सा कारणले स्थानान्तरण हुनका लागि भर्ना भएका प्यालेस्टिनीहरूका लागि निकास परमिट जारी गरेर थप निकासी सुविधा प्रदान गर्न’ आह्वान गरे। 

युद्ध सुरु भएको आठ महिनापछि इजराइलले दक्षिणी सहरमा लाखौं विस्थापित प्यालेस्टिनीका लागि अन्तर्राष्ट्रिय चिन्ताका बावजुद रफाहमा आफ्नो स्थल आक्रमणलाई तीव्र बनाउन थालेको छ ।

गाजामा इजराइली घेराबन्दीले २४ लाख मानिसका लागि खाद्यान्नका साथै सुरक्षित पानी, औषधि र इन्धनको चरम अभाव सुरु भएको छ ।

गत साता इजराइली सेनाले रफाह क्रसिङको गाजा क्षेत्रमा नियन्त्रण गरेपछि सहायता गाडीहरू सो क्षेत्रमा प्रवेश गर्न पाएका छन् । राहत सामग्री लिएर गएका गाडीहरु समेत इजरायली सेनाको घेराभित्रै बसेर इजरायली नागरिकहरुले लुटपाट गर्दै नष्ट गरिदिनुका साथै चालकहरुमाथि निर्घात कुटपिट र गाडीहरुमा क्षति पुर्याइदिएका छन् ।

इजरायली सेनाले गाजामा गरेको चार महिना यताको आक्रमणमा १७ हजार भन्दा धेरै बालबालिकाको हत्या गरेको छ भने १२ हजार भन्दा धेरै महिलाहरुले ज्यान गुमाएका छन् । हमासमाथिको आक्रमण भनेपनि इजरायली सेनाले शरणार्थी शिविर, आवासिय घर, अस्पताल जस्ता क्षेत्रमा आक्रमण गरि मारेका ३५ हजारभन्दा धेरै नागरिकमा अधिकांश सर्वसाधारण रहेका छन् ।

इजरायली सेनाले गाजा क्षेत्रका अधिकांश घरहरु बम विस्फोट गरेर ध्वस्त पारेको छ भने बचेका घरहरु बुलडोजर लगाएर नष्ट गर्दै आएको छ ।

अमेरिकाले इजरायली मानवताबिरोधी अपराधका बावजुद केहि बिरोध गरेजस्तो गरेपनि गाजामा नरसंहार मच्चाउन इजरायललाई अर्बौंको हतियार विक्रि र अनुदानमा उपलब्ध गराइरहेको छ ।