टोकियो, जापान ।
उत्तर कोरियाले आफ्ना नेता किम जोङ उनले शुक्रबार २४० मिलिमिटरको मल्टिपल रकेट लन्चर प्रणालीको अपडेटेड संस्करणका लागि नियन्त्रण गर्न सकिने गोलाको सफल परीक्षणको निरीक्षण गरेको बताएको छ ।
उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीको अखबार, रोडोङ सिनमुनले शनिबार रिपोर्ट गरे अनुसार लन्चरमा स्वचालित रुपमा समेत प्रहार गर्न सकिने संयुक्त नियन्त्रण प्रणाली राखिएको छ । पत्रिकाले एकसाथ प्रहार गरिएका रेकट लन्चरबाट प्रहार गरिएका सबै आठ फायर गोलाहरू निसानामा लागेको उल्लेख गरेको छ ।
यो प्रणाली यस वर्षदेखि २०२६ सम्म देशको सेनाका एकाइहरूमा खटाइने पनि पत्रिकाले जनाएको छ ।
नयाँ प्रविधिका गोलाहरू देशको हतियार निर्यातको लागि जिम्मेवार दोस्रो अर्थव्यवस्था आयोग अन्तर्गत स्थापित नयाँ राष्ट्रिय रक्षा औद्योगिक उद्यमद्वारा विकसित गरिएको बताइएको छ ।
पत्रिकाले किमले राष्ट्रिय रक्षा आर्थिक कार्यलाई थप गति दिने तरिकाहरूबारे छलफल गरेको र गोलाको उत्पादन उच्च स्तरमा पुर्याउन आह्वान गरेको छ ।
दक्षिण कोरियाको एकीकरण मन्त्रालयले राष्ट्रिय रक्षा आर्थिक कार्य भन्ने उत्तर कोरियाली शब्द हतियार निर्यातको सन्दर्भ हुनसक्ने बताएको छ ।
देशको योनहाप समाचार एजेन्सीले पर्यवेक्षकहरूलाई उद्धृत गर्दै प्योङयाङले युक्रेनमा आफ्नो सैन्य आक्रमण जारी राखेकाले उत्तर कोरियाले रुसलाई हतियार निर्यात गरेर आर्थिक फाइदा उठाउने लक्ष्य राखेको बताएको छ ।