(Japan) 12 th September | 2024 | Thursday | 2:09:58 AM || (Nepal) 10:54:58 PM
 
 


उत्तर कोरियाली नेता किम रुस भ्रमणबाट फर्किए, उत्तरले हतियार र रुसले खाद्यान्न आपूर्ति सम्झौता गरेको विश्वास

  POSTED ON : Monday, 18 September, 2023 | Views : 756

उत्तर कोरियाली नेता किम रुस भ्रमणबाट फर्किए, उत्तरले हतियार र रुसले खाद्यान्न आपूर्ति सम्झौता गरेको विश्वास


मस्को, एजेन्सी ।

उत्तर कोरियाली नेता किम जोङ उनले राष्ट्रपति भ्लादिमिर पुटिनसँग आफ्नो देशको सम्बन्ध सुदृढ पार्ने दुर्लभ छ दिनको भ्रमण पछि आइतवार स्वदेश फर्किएका छन् । प्योङयाङले युक्रेनमा आक्रमणको लागि मस्कोलाई हतियार प्रदान गर्न सक्ने पश्चिमी डरलाई बास्तविकतामा परिणत गर्दै ड्रोन उपलब्ध गराउने भएको इजरायली समाचार संस्थाले श्रोतहरुलाई दावि गर्दै उल्लेख गरेको छ ।

मङ्गलबार सुरु भएको रुसको सुदूर पूर्वी क्षेत्रको किमको भ्रमणले पुटिनसँग राइफलको प्रतीकात्मक आदानप्रदान र अत्याधुनिक रुसी हतियारहरूको निरीक्षण लगायत सैन्य सहयोगमा गहन रूपमा ध्यान केन्द्रित गरेको थियो ।

कोरोना भाइरस महामारी पछि किमको पहिलो आधिकारिक विदेश भ्रमणले मस्को र प्योङयाङले हतियार सम्झौता सुरक्षित गर्न पश्चिमी प्रतिबन्धहरूलाई अस्वीकार गर्ने चिन्ता जगाइदिएको छ । जसले क्रेमलिनलाई युक्रेन विरुद्धको आक्रमण जारी राख्न मद्दत गर्ने विश्वास गरिन्छ ।

उत्तर कोरियाको सिमानामा रहेको सुदूर पूर्वी रुसी सहर भ्लादिभोस्टोक प्रस्थान गर्नुअघि किमलाई चीन र उत्तर कोरियाको सिमाना जोडिएको प्रिमोर्स्की क्षेत्रका गभर्नरबाट पाँचवटा विस्फोटक ड्रोन, एउटा तोही ड्रोन र एउटा बुलेटप्रुफ भेस्ट उपहार स्वरूप दिइएको थियो ।

उनले सुदूर पूर्वी स्टेट युनिभर्सिटीको पनि भ्रमण गरे र स्थानीय समुद्रमा वालरस शो हेर्दा विशेष रूपमा खुसी देखिएको तस्विरहरु सार्वजनिक भएका थिए ।

सैन्य मामिलामा कुनै पनि सम्झौताको उल्लेख नगरि रुसी अधिकारीहरुले दुवै पक्षले उत्तर कोरियाको लागि आवश्यक खाद्यान्न आपूर्ति बढाउने र नियमित हवाई यात्रा पुन: सुचारु गर्ने विषयमा छलफल गरेको बताएका छन् । दुई देशबीच लामो समयदेखि ठप्प रहेका पूर्वाधार आयोजनालाई पुनर्जीवित गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

रसिया र उत्तर कोरिया, ऐतिहासिक सहयोगीहरू, दुबै पश्चिमा देशहरुको प्रतिबन्धको चपेटामा छन् । युक्रेन आक्रमणको लागि मस्को र आणविक हतियार परीक्षणको लागि प्योंगयांग तारोमा परेका छन् ।

शनिबार किमले रुसी रक्षामन्त्री सर्गेई शोइगुसँग भ्लादिभोस्तोकमा भेट गरे, जहाँ उनले हाइपरसोनिक मिसाइल प्रणाली लगायत अत्याधुनिक हतियारहरूको निरीक्षण गरेका थिए ।

युद्धपोतमा चढ्नुअघि एयरफिल्डमा रूसका केही आणविक बमवर्षकहरूको निरीक्षण गर्दा उनीहरू मुस्कुराउँदै देखिएका थिए ।

बुधवार, पुटिन र किमले मस्कोबाट करिब ८ हजार टाढा किलोमिटर रूसको नयाँ भोस्टोचनी कोस्मोड्रोममा वार्ता गरेका थिए ।

बैठक पछि, पुटिनले उत्तर कोरियासँग ठूलो सहयोगको सम्भावना र सैन्य सम्बन्धका लागि ूसम्भावनाहरूू बारे कुरा गरेको बताएका थिए ।