(Japan) 12 th September | 2024 | Thursday | 1:17:44 AM || (Nepal) 10:02:44 PM
 
 


जापानका नयाँ रक्षा मन्त्री ताइवान समर्थक समूहका वरिष्ठ सदस्य, पदबाट दिए राजीनामा

  POSTED ON : Sunday, 17 September, 2023 | Views : 776

जापानका नयाँ रक्षा मन्त्री ताइवान समर्थक समूहका वरिष्ठ सदस्य, पदबाट दिए राजीनामा


टोकियो, जापान ।

प्रधानमन्त्री किशिदा फुमिओले नियुक्त गरेका जापानका नयाँ रक्षामन्त्री मिनोरु किहारा ताइवानको कट्टर समर्थक रहेको खुलेको छ । जापान ताइवान सम्बन्धलाई सुदृढ गर्न खोलिएको सांसदहरूको क्रस पार्टी समूहको वरिष्ठ सदस्य रहेका मिनोरुले मन्त्री नियुक्त भएपछि उक्त पदबाट राजीनामा दिएको बताएका छन् ।

किहाराले पत्रकार सम्मेलनमा आफ्नो नयाँ जिम्मेवारीमा 'आफूलाई समर्पित' गर्नका लागि बुधबार मन्त्रिपरिषद् पुनर्गठनमा आधिकारिक रूपमा रक्षा प्रमुख बन्नु अघि समूहको महासचिवको पदबाट राजीनामा दिएको दाबी गरेका छन् ।

'एक-चीन' सिद्धान्तमा उनको दृष्टिकोणको बारेमा सोध्दा, किहाराले भने, 'जापान सन् १९७२ मा चीनसँगको संयुक्त संवादको आधारमा गैर-सरकारी आधारमा ताइवानसँग काम गर्ने सम्बन्ध कायम राख्ने पक्षमा छ ।'

उक्त संयुक्त दस्तावेजमा, टोकियोले बेइजिङलाई चीनको एकमात्र वैध सरकारको रूपमा स्वीकार गरेको छ र ताइपेईसँग कूटनीतिक सम्बन्ध तोडेको छ । तर उनले हालै राजिनामा दिएको ताइवान समर्थक समुहले भने ताइवानलाई छुट्टै देशको रुपमा मान्यता र कुटनीतिक सम्वन्ध स्थापित गर्नुपर्ने लबिगं गर्दै आइरहेको छ ।

समूहको गतिविधिको एक भागको रूपमा, किहाराले गत वर्ष अगस्टमा ताइवानको भ्रमण गरेका थिए र समूहका प्रमुख केजी फुरुयाले ताइवानका राष्ट्रपति साई इङ्ग वेनसँग भेटे समेत गरेका थिए ।

फुरुया र किहारा प्रधानमन्त्री फुमियो किशिदा नेतृत्वको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका सांसद हुन् ।

यासुकाजु हामादाको उत्तराधिकारी किहारा रक्षामन्त्री बनेका छन् । ५४ वर्षीय प्रतिनिधि सभा सदस्यले यसअघि पूर्व प्रधानमन्त्री शिन्जो आबे र योशिहिदे सुगाको विशेष राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा समेत काम गरेका थिए ।