एजेन्सी ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँग बेलारुसमा सामरिक आणविक हतियार तैनाथ गर्न सहमत भएको बताएका छन् ।
शनिबार जारी गरिएको रुसी सरकारी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा पुटिनले लुकासेन्कोले लामो समयदेखि आफ्नो देशमा सामरिक आणविक हतियार राख्ने विषय उठाएको बताएका छन् ।
पुटिनले अमेरिकाले आफ्ना सहयोगी नेटो देशहरूको भूमिमा रणनीतिक आणविक हतियार तैनाथ गरिरहेको समेत बताएका छन् ।
उनले पश्चिमा देशले जस्तै रसिया र बेलारुसले पनि उस्तै कदम चाल्न सहमत भएको बताए । आणविक हतियार तैनाथीले आणविक हतियारको अप्रसारमा आफ्नो अन्तर्राष्ट्रिय दायित्वहरू उल्लङ्घन नगर्ने पुटिनको दाबी छ ।
पुटिनले इस्कान्डर रणनीतिक मिसाइल प्रणाली बेलारुसमा हस्तान्तरण गरिएको र बेलारूसी वायुसेनाका विमानहरू आणविक हतियारहरू प्रक्षेपण गर्न प्रयोग गर्न सकिने स्पष्ट पारे ।
उनले रसियाले जुलाई १ सम्ममा बेलारुसमा सामरिक आणविक हतियारहरूको भण्डारण सुविधाको निर्माण पूरा गर्ने योजना बनाएको पनि जानकारी गराएका छन् ।
पुटिनले युक्रेनलाई युरेनियम ट्याङ्कीको गोला आपूर्ति गर्ने बेलायतको योजनालाई पनि उल्लेख गरेका छन् । उनले ती खतरनाक हतियार हुन् तर रुससँग त्यसको प्रतिकार गर्ने साधन रहेको पनि उनले बताए ।
पुटिनले ट्याङ्क लगायत हतियारको उत्पादन बढाउने रुसको योजनामा पनि जोड दिए । उनले नयाँ ट्याङ्कहरूले रूसी सेनासँग रहेका ट्याङ्कहरूको कुल संख्यालाई युक्रेनी सेनाको लागि उपलब्ध संख्या तीन गुणा बनाउने बताए ।
पूर्वी युक्रेनी सहर बाख्मुतमा रुस र युक्रेनी सेनाबिच युद्ध जारी छ ।
युक्रेनी सेनाहरू अमेरिका, बेलायत सहित पश्चिमी देशहरूले प्रदान गरेका ट्याङ्क र लडाकु विमानहरू प्रयोग गरेर यस क्षेत्रमा रुस बिरुद्ध युद्ध लडिरहेका छन् ।