(Japan) 26 th March | 2023 | Sunday | 3:16:38 PM || (Nepal) 12:01:38 PM
 
 

नोटको पहाड बनाएर चिनियाँ कम्पनीको बार्षिक बोनस वितरण : उत्कृष्ठ कर्मचारीलाई ३ करोड, छिटो पैसा गन्नेलाई ३० लाख रुपैयाँ

  POSTED ON : Tuesday, 31 January, 2023 | Views : 218

नोटको पहाड बनाएर चिनियाँ कम्पनीको बार्षिक बोनस वितरण : उत्कृष्ठ कर्मचारीलाई ३ करोड, छिटो पैसा गन्नेलाई ३० लाख रुपैयाँ


काठमाडौं, नेपाल ।

चीनको एउटा कम्पनीले आफ्ना कर्मचारीहरुलाई बोनस दिनका लागि अनौठो तरिका अपनाएर विश्वचर चर्चा कमाएको छ ।

कार्यालयमा पार्टीको क्रममा कम्पनीका व्यवस्थापकहरुले स्टेजमा नोटको ठूलो पहाड जस्तै थुप्रो नै बनाएका थिए । नोटको त्यो पहाडबाट पटक पटक रकमका बिटा निकालेर कर्मचारीहरुलाई अँगालोभरि बोकेर वितरण गरिएको थियो । मनै लोभ्याउने घटनाको भिडियो सार्वजनिक भएपछि चिनियाँ सोसल मिडियाहरुमा मात्र नभई विश्वभर नै भाइरल बनिरहेको छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार यो घटना चीनको हेनान प्रान्तको हो । त्यहाँस्थित क्रेन निर्माता कम्पनी हेनान माइनले आफ्ना कर्मचारीलाई ६ करोड १० लाख युआन अर्थात्१ अर्ब १५ करोड रुपैयाँ बोनस बाँडेको छ ।

कर्मचारीलाई बोनस वितरणका लागि लागि कार्यालय परिसरमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । त्यसक्रममा मञ्चमा २ मिटर अग्लो नोटको पहाड नै खडा गरिएको थियो । उक्त थुप्रोबाट रकम निकालेर पालैपालो कर्मचारीहरुलाई बोनस बाँडियो ।

कम्पनीले गत जनवरी १७ मा सोसल मिडियामा उक्त भिडियो पोस्ट गरेको थियो । कम्पनीमा कार्यरत सबै ४० जना कर्मचारीहरुलाई बोनस बाँडिएको भए पनि सर्वोत्कृष्ट ३ जना कर्मचारीलाई ५० लाख युआन अर्थात २९ करोड रुपैयाँ पुरस्कार दिइयो । अन्य कर्मचारीलाई जनही १० लाख युआन बोनस प्रदान गरियो ।

यतिमात्र होइन उक्त कार्यक्रममा पैसा गन्ने प्रतियोगिता पनि भएको थियो । उक्त प्रतियोगितामा कर्मचारीहरुका परिवारका सदस्यले भाग लिएका थिए । त्यहाँ निश्चित समयमा सबैभन्दा धेरै नोट गन्न सक्ने व्यक्तिलाई पुरस्कार दिइएको थियो । पैसा गन्ने प्रतियोगिताका लागि कम्पनीले थप १ करोड २० लाख युआन खर्च गर्‍यो । सबैभन्दा छिटो नोट गन्नेलाई १ लाख ५७ हजार युआन अर्थात् झण्डै ३० लाख ५० हजार रुपैयाँ पुरस्कार दिइएको थियो ।

कर्मचारीलाई करोडौं बोनस बाँड्ने उक्त कम्पनीले गतवर्ष २३ प्रतिशत भन्दा धेरै मुनाफा कमाएको थियो । सन् २००२ मा स्थापित यो कम्पनीले ५ हजार भन्दा धेरैलाई रोजगारी दिएको छ । कम्पनीका कर्मचारीहरुको तलब हरेक वर्ष ३० प्रतिशतले बढाउने गरिएको छ ।