टोकियो, जापान ।
युक्रेन र रुसबीच जारी युद्धका कारण यूरोपमा रहेका अधिकांश जापानी कम्पनीहरुले समस्या भोगिरहेका छन् । यूरोपमा व्यवसाय सञ्चालन गरिरहेका ७७ प्रतिशत कम्पनीहरु मारमा परेका छन् । अधिकांश समस्या ऊर्जा र खाद्यान्नको भाउमा भएको वृद्धि र लजिष्टिकको क्षेत्रमा देखिएको अवरोधमा केन्द्रीत छन् ।
सर्वेक्षण जापान एक्सटर्नल ट्रेड अगर्नाइजेशनले 'जेट्रो'ले सेप्टेम्बर १ देखि २६ को बीचमा गरेको थियो । सर्वेक्षणमा १ हजार ४४५ कम्पनी समावेश भएकोमा ७९९ बाट वैध उत्तर प्राप्त भएको थियो । युक्रेनी युद्धको ठूलो प्रभाव परेको ८३ दशमलव ७ प्रतिशत कम्पनीले बताएका छन् ।
बहु उत्तर मागेर गरिएको सर्वेक्षणमा ६०५ कम्पनीमध्ये ६५ दशमलव १ प्रतिशतले ऊर्जाको बढ्दो भाउ समस्या भएको बताएका छन् । ५५ दशमलव ९ प्रतिशतको समस्या भने कच्चा पदार्थको उच्च मूल्य रहेको छ । प्लाष्टिक र रबर प्रडक्ट जस्ता संसाधन महँगो भएको उनीहरुको गुनासो छ । ५४ प्रतिशतले भने लजिष्टिकमा अवरोध र समस्याबारे प्रश्न उठाएका छन् ।
सर्वेक्षणले युक्रेनी युद्धले व्यवसाय सञ्चालनमा परेको गम्भीर प्रभाव उजागर गरेको जेट्रोका एक अधिकारी आकिको उइदाले भने । झन्डै ८० प्रतिशत कम्पनी प्रभावित हुनुको अर्थ कम्पनीहरु युक्रेनी युद्धको नकारात्मक प्रभावबाट उम्किन नसकेको देखाएको छ । मूल्य बढाउने जस्ता उपायहरु अपनाउँदा पनि कम्पनीहरु क्षतिबाट बच्न नसक्ने उइदाले बताए । समस्याको समाधान व्यवसाय गर्ने वातावरण सुधार्ने भएको उनको भनाइ छ ।
रुसले फेबु्रअरीको अन्त्यमा युक्रेनमा आक्रमण गरेयता युक्रेनबाट हुने अन्न निर्यातमा समस्या उत्पन्न हुँदा विश्वभर खाद्यान्नको भाउ बढेको थियो । खाद्य उद्योगका साथै कृषि र मत्स्य प्रशोधन क्षेत्रका कम्पनीहरु विशेषगरी मारमा परेको जेट्रोले बताएको छ । इन्धनको भाउ बढेको अनि कच्चा पदार्थ र अटो पार्ट्स महँगो हुँदा अटो उद्योगमा पनि समस्या देखिएको छ ।