(Japan) 5 th June | 2023 | Monday | 3:06:57 AM || (Nepal) 11:51:57 PM
 
 

मलेसियामा २२ बर्ष प्रधानमन्त्री र ५० वर्ष चुनाव जीतेका महाथीर जमानत जफत हुनेगरि पराजित

  POSTED ON : Sunday, 20 November, 2022 | Views : 950

मलेसियामा २२ बर्ष प्रधानमन्त्री र ५० वर्ष चुनाव जीतेका महाथीर जमानत जफत हुनेगरि पराजित


एजेन्सी ।

मलेसियामा शनिबार भएको आमनिर्वाचनमा पूर्वप्रधानमन्त्री महाथीर मोहम्मद पराजित भएका छन् ।

एसिया प्रशान्त क्षेत्रको राजनीतिमा लामो समयदेखि प्रभाव जमाउँदै आएका ९७ वर्षीय महाथीरको पराजयले उनको राजनीतिक यात्रामा विश्राम लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन् ।

विगत ५० वर्षमा महाथीरको यो पहिलो चुनावी हार हो । सन् १९८१ देखि २००३ सम्म २२ वर्ष मलेसियाका प्रधानमन्त्री रहेका महाथीर यसपालि पराजित मात्र भएनन्, उनले आफ्नो जमानत समेत जोगाउन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले उल्लेख गरेको छ । उनले कुल सदर मतको ८ प्रतिशत पनि ल्याउन सकेनन् ।

सन् २०१८ मा प्रधानमन्त्री भएपछि उनले 'ससारकै बढी उमेरको प्रधानमन्त्री' का रूपमा गिनिज वर्ल्ड रेकर्ड राखेका थिए । त्यति बेला उनी ९३ वर्षका थिए ।

मलेसियमा यसपालि कुनै पनि पार्टीले बहुमत ल्याउन सकेन । दुई सय २२ सिटको संसदका लागि पकातान हरपन पार्टीले ८२ सिट जितेको छ भने पेरिकातान नेसनल पार्टी ७३ सिट जितेर दोस्रो स्थानमा छ । त्यस्तै बारिसान नेसनलले ३० र गाबुन्गान पार्टी सारावाकले २२ सिटमा विजय हासिल गरेको छ ।

महाथीरको होमल्यान्ड फाइटर्स पार्टीले भने यसपालि नराम्रो पराजय भोगेको छ । उनको पार्टीले एउटा पनि सिट जित्न नसकेको अलजजिराले जनाएको छ । यसपालि मलेसियामा महाथीर लगायत उनको पार्टीका उम्मेदवारहरूलाई हराउन 'नो नट अगेन' भन्ने अभियान चलेको थियो ।

चुनावी परिणाम घोषणापछि मलेसियामा प्रधानमन्त्रीका दुई प्रतिद्वन्द्वी उम्मेदवारहरू अनवर इब्राहिम र मुहिद्दिन यशिनले नयाँ सरकार आफूले बनाउने दाबी गरेका छन् ।

उमेरका कारण अलि शिथिल देखिए पनि शारीरिक रूपले स्वस्थ महाथीरले चुनावी प्रचारका क्रममा आफ्नो जित्ने 'राम्रो सम्भावना' रहेको बताएका थिए।

'म अहिले पनि तपाईंहरूका अगाडि उभिएको छु र तपाईंहरूसँग कुराकानी गर्दैछु' महाथीरले भनेका थिए, 'यसले धेरै प्रश्नको जवाफ दिन्छ भन्ने मलाई लाग्छ ।'