(Japan) 3 rd October | 2023 | Tuesday | 5:45:45 AM || (Nepal) 2:30:45 AM
 
 


अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको घरमा एफबीआईको छापा

  POSTED ON : Tuesday, 09 August, 2022 | Views : 1340

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको घरमा एफबीआईको छापा


एजेन्सी ।

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा सङ्घीय अनुसन्धान निकाय एफबीआईले छापा मारेको छ ।

एक वक्तव्य जारी गर्दै ट्रम्पले पाम बिचस्थित मार ए लागो रिसोर्टमा रहेको घर एफबीआई एजेन्टको ठूलो समूहले कब्जा गरेको उल्लेख गरेका छन् ।

सीबीएस न्यूजले आधिकारिक कागजपत्रहरूको व्यवस्थापनको विषयमा ट्रम्पको घरमा छापा मारिएको उल्लेख गरेको छ ।

गत वर्ष अमेरिकी संसद् भवनमा भएको हिंसाको विषयमा पनि अमेरिकी संसद्ले ट्रम्पमाथि छानबिन गरिरहेको छ ।

सोमवार छापा मारिएको समयमा ट्रम्प न्यूयोर्कस्थित ट्रम्प टावरमा रहेको सीएनएनले उल्लेख गरेको छ ।

'यो हाम्रो देशको लागि कालो समय हो' ट्रम्पले विज्ञप्तिको सुरुमा भनेका छन् ।

आफूले सबै सरकारी निकायसँग समन्वय गरेको दाबी गर्दै उनले 'बिना पूर्वजानकारी गरिएको छापा अनावश्यक र अनुचित भएको' उल्लेख गरेका छन् ।

ट्रम्पले सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार बन्नबाट आफूलाई रोक्न 'न्याय प्रणालीलाई हतियारको रूपमा प्रयोग गरिएको' आरोप लगाएका छन् ।