(Japan) 3 rd July | 2022 | Sunday | 5:33:34 AM || (Nepal) 2:18:34 AM
 
 

जापानले जाइका मार्फत युक्रेनलाई १३ अर्ब येन सहुलिय ऋण

  POSTED ON : Wednesday, 18 May, 2022 | Views : 250

जापानले जाइका मार्फत युक्रेनलाई १३ अर्ब येन सहुलिय ऋण


टोकियो, जापान ।

जापानले युक्रेनलाई कर्जा दिने भएको छ । रुसले गरेको आक्रमणपछि आर्थिक संकटको सामना गरिरहेको युक्रेनलाई वित्तीय सहायता उपलब्ध गराउन सोमबार दुई देशबीच १३ अर्ब येन (२० करोड डलर) बराबरको कर्जा सम्झौता भएको हो ।

यो सहायता विश्व बैंकको सह वित्तपोाणमा उपलब्ध गराइने जापानी अन्तरराष्ट्रिय सहयोग निकाय (जाइका)ले बताएको छ । यो रकम युक्रेनले सैन्य प्रयोजनमा प्रयोग गर्ने छैन । यसलाई युक्रेन सरकारको बजेटमा समाविष्ट गरिनेछ ।

युक्रेनलाई यो कर्जा विमुद्रिकीकरण र भ्रष्टाचार विरोधी संस्थाहरुको प्रवद्र्धन गर्न, भूमि र कर्जा बजार बलियो बनाउन र सामाजिक सुरक्षा सञ्जाललाई मजबुत बनाउने लक्ष्यले दिइएको जाइकाले बताएको छ । सम्झौतामा जाइकाका प्रमुख आकिहिको तानाका र युक्रेनी अर्थमन्त्री सेर्गी मर्चेन्कोले अनलाइनबाट हस्ताक्षर गरेका थिए ।

आक्रमण र मानवीय संकट यो शताब्दीमा अन्तरराष्ट्रिय व्यवस्था, प्रजातन्त्रको साझा मूल्य र कानूनको शासनले सामना गरेको सबैभन्दा ठूलो चुनौती भएको तानाकाले हस्ताक्षर समारोहमा भनेका थिए । जापानी प्रधानमन्त्री फुमिओ किशिदाले अप्रिलमा युक्रेनलाई येनमा आधारित कूल कर्जा ३० करोड डलरमा पुर्याउने बताए पछि यो सम्झौता भएको हो ।