एजेन्सी, टोकियो ।
उत्तर कोरियाले आफ्नो पहिलो कोरोना भाइरस संक्रमित पहिचान गरेपछि शुक्रबार २३ जना संक्रमितको निधन भएको जनाएको छ । यसैगरि थप १ लाख ७४ हजार ४ सय व्यक्तिमा कोभिड संक्रमण ज्वरोको लक्षण भएको पुष्टि गरेको छ ।
सत्तारुढ वर्कर्स पार्टीको अखबार रोडोङ सिनमुनले रिपोर्ट गरे अनुसार नेता किम जोङ उनलाई शनिबार पार्टीको राजनीतिक ब्यूरोको बैठकमा 'संक्रामक रोग' बारे जानकारी दिइएको थियो ।
प्रतिवेदनले अप्रिलको अन्त्यदेखि शुक्रबारसम्म ज्वरोका बिरामीको संख्या ५२४,४०० पुगेको जनाएको छ । उत्तरको जनसंख्या लगभग २ करोड ५८ लाख रहेको छ ।
अखबारले २ लाख ८० हजार भन्दा बढी मानिसहरूको उपचार भइरहेको र हालसम्म २७ जनाको मृत्यु भएको बताएको छ ।
शुक्रबार ज्वरोका संक्रमितहरु देशको दैनिक गणना बिहीबारको भन्दा नौ गुणा बढी पाइएको छ ।
बैठकमा संकटको कडा भावना व्यक्त गर्दै किमले अवस्थालाई 'देशको स्थापनादेखि कै ठूलो उथलपुथल' भनेर वर्णन गरेका छन् ।
विकसित राष्ट्रहरूमा भाइरस नियन्त्रणका उपायहरू अध्ययन गर्नु अत्यन्तै महत्त्वपूर्ण रहेको उनले बताए । उनले अधिकारीहरूलाई चीनको उन्नत नतिजाबाट सिक्न र कदम चाल्न निर्देशक दिएका छन् ।
उत्तर कोरियाले आधिकारिक रूपमा बिहीबार कोरोना भाइरसको पहिलो केसहरू पुष्टि गर्दै महामारी रोकथाम प्रणालीलाई अधिकतम आपतकालीन स्तरमा पुर्याउने बताएको थियो । नेता किमले सबै शहर र काउन्टीहरूलाई तालाबन्दी गर्न आदेश दिएका छन् ।
उत्तरको नेतृत्वले मानिसहरूमा भाइरस परीक्षण गर्न र स्वास्थ्यकर्मीहरू, साथै मेडिकल विश्वविद्यालयका विद्यार्थी र शिक्षकहरूलाई परिचालन गरेर चिकित्सा आपूर्तिहरू वितरण गर्न तिब्रता दिएको छ । तर उत्तर कोरियामा चिकित्सा प्रणाली कमजोर भएको र त्यहाँ संक्रमण थप फैलिने चिन्ता व्यक्त गरिएको छ ।