(Japan) 20 th May | 2022 | Friday | 4:36:42 AM || (Nepal) 1:21:42 AM
 
 

ईण्डियामा एक भवनमा आगलागी हुँदा कम्तिमा २७ जनाको मृत्यु, १९ जना बेपत्ता

  POSTED ON : Saturday, 14 May, 2022 | Views : 464

ईण्डियामा एक भवनमा आगलागी हुँदा कम्तिमा २७ जनाको मृत्यु, १९ जना बेपत्ता


एजेन्सी, दिल्ली ।

ईण्डियाको राजधानी दिल्लीमा रहेको एक कार्यालय भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । आगलागीमा परेर कम्तीमा १२ जना घाइते भएका छन् । आपत्कालीन सेवा प्रदायकहरूले अझै १९ जना बेपत्ता रहेको र खोजि भइरहेको बताएका छन्।

आगलागीको बेला त्यस चार तले भवनमा ७० जना भन्दा बढी मानिस रहेको बताइएको छ । प्रहरीले झ्यालको सिसा फोडेर मानिसहरूको उद्धार गरेको थियो ।

भारतको राजधानी दिल्लीको पश्चिममा रहेको मुन्ड्का मेट्रो स्टेसन नजिकै भएको घटनामा आगो निभाउन करिब २० वटा दमकल प्रयोग गरिएको थियो ।

आगलागी हुनुको कारण विद्युतीय अवरोधका (सर्ट सर्किट) भएको अनुमान गरिएको छ ।

ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मृत्यु हुनेहरूको परिवारका लागि दुई लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने बताएका छन् ।

आगो नियन्त्रणमा आएपछि उद्धार कार्य जारी राखिएको छ । 'आगलागी भएको क्षेत्रफल ठूलो भएकाले उद्धार कार्य सक्न समय लाग्ने देखिन्छ' टाइम्स अफ इन्डियाले डेपुटी चिफ फायर अफिसर सुनिल चौधरीलाई उद्धृत गरेको छ।

प्राय शवहरू दोस्रो तलामा भेटिएको बताइएको छ ।

स्थानीय अधिकारी जोगीराम जैनका अनुसार प्रारम्भिक विवरणमा विद्युतीय अवरोधका कारण आगलागी भएको हो । उनले भवनमा उचित अग्नि सुरक्षा प्रमाणीकरण नभएको समेत बताए ।

'हामीले अनुसन्धान शुरू गरेका छौँ र यदि नगरपालिकाका कुनै अधिकारीहरूको गल्ती पाइएमा कडा कारबाही गरिनेछ' उनले हिन्दुस्तान टाइम्ससँग भनेका छन्।

मृत्यु हुनेहरूमध्ये प्राय उक्त भवनमा रहेको सीसीटीभी बनाउने कम्पनीका कर्मचारीहरू हुन् । आजतक समाचार संस्थाका अनुसार आगलागीमा परेर मृत्यु हुनेहरूको सङ्ख्या ४० भन्दा बढि हुनसक्ने उद्दारकर्ताहरुले बताएका छन् । भवनको माथिल्लो तलाहरूमा उक्लन एक मात्र भर्‍याङ भएको र त्यहाँ कुनै आपत्कालीन द्वार नभएको जनाइएको छ ।

भवनमा रहेका काठका सामग्रीलगायत सम्पूर्ण वस्तुहरू खरानीमा परिणत भएको दृश्यमा देखिएको छ ।