(Japan) 16 th February | 2026 | Monday | 7:24:53 AM || (Nepal) 4:09:53 AM
 
 


कर्मशिलको देश : जापानकी १०८ वर्षीया महिला विश्वकै जेठी 'नाई'

  POSTED ON : Thursday, 06 March, 2025 | Views : 1296

कर्मशिलको देश : जापानकी १०८ वर्षीया महिला विश्वकै जेठी 'नाई'


टोकियो, जापान ।

तपाईं एकपटक जापान आउनुभएको छ वा जापानमा बस्दै आउनुभएको छ भने ८० बर्ष उमेर समुहका बृद्धबृद्धाले नियमित कामकाज गरिरहेको त देख्नुभएकै होला । अझ ९० को उमेरसम्म साना पसलहरु आफैं चलाएर बस्ने गरेका जापानीहरु यति कर्मशिल हुन्छन् कि हातखुट्टा सामान्य चल्न सक्ने बेलासम्म पनि आफ्नो कर्म गर्न छाड्दैनन् ।

यहि कर्मशिल देशका नागरिक मध्येकी एक हुन् १०८ बर्षिया सिचुई हाकोइशी । जो कोहिलाई झट्ट सुन्दा अचम्म र अपत्यारिलो लाग्ने कुरा के हो भने जापानको तोचिगी प्रिफेक्चरकी १०८ बर्षिय सिचुई हाकोइशी विश्वकै जेठी कपाल काट्ने 'नाई' व्यक्ति घोषित भएकी छिन् । उनलाई गिनिज वर्ल्ड रेकर्ड्सले विश्वकै ज्येष्ठ नाई (पेशागत रुपमा कपाल काट्ने व्यक्ति) घोषणा गरेको छ ।

१४ वर्षको उमेरमा टोकीयोमा नाइको तालिम लिएकी उनले दोस्रो विश्वयुद्धपछि आफ्नै गाउँमा सैलून खोलेकी थिइन्, जुन ७० वर्षदेखि निरन्तर सञ्चालनमा छ । अहिले पनि मासिक ४–५ जना ग्राहकको कपाल काट्ने हाकोइशीको लक्ष्य १०९ वर्षसम्म नाइको रूपमा काम गर्ने रहेको बताएकी छिन् ।

सन् १९१६ मा एक किसान परिवारमा जन्मिएकी उनले २० वर्षको उमेरमा नाईको लाइसेन्स प्राप्त गरेपछि आफ्ना श्रीमान जिरोसँग टोकियोमै सैलुन खोलेकी थिइन् । तर दोस्रो विश्वयुद्धका क्रममा श्रीमान युद्धमा होमिनु पर्दा र सैलुन हवाई आक्रमणमा ध्वस्त भएपछि उनि आफ्ना दुई साना सन्तानसहित तोचिगी फर्किएकी थिइन् ।

युद्धमा होमिएका श्रीमानको सन् १९५३ मा मात्र निधनको आधिकारिक सूचना पाएपछि झनै कठिन समयको सामना गर्न पुगेकी उनले रियो हाकोइशी नाम दिएर सैलुन खोलिन् । त्यो पनि एक पटकमा एकजना मात्र बसेर काट्न मिल्ने एक सिटे सैलुन । त्यहि सैलुन ७० बर्षदेखि निरन्तर संचालन गरिरहेकी १०८ वर्षिया शिबुई कर्ममा विश्वास गर्ने जो कसैका लागि एक उदाहरणीय प्ररेणाको पात्र बनेकी छिन् ।